बेपत्ता युवकको खोजी स्थगित, हाम फालेका ६ जना प्रहरीको नियन्त्रणमा



काठमाडौँ । सोमबार दिउँसो सामूहिक तस्बिर खिच्ने भन्दै चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेर बेपत्ता भएका युवकको खोजी कार्य स्थगित गरिएको छ । कर्णाली नदीमा बेपत्ता भएका लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाहीको मङ्गलवार दिनभर खोजी गरिए पनि पत्ता लाग्न सकेन ।

नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोरको टोली र स्थानीय समेतले शाहीको खोजी गरे पनि उनी भेटिएका छैनन् । साँझ परेका कारण मंगलबारलाई खोजी कार्य स्थगित गरिएको प्रहरीले जनाएको छ ।

सोमबार होलीमा रमाइलो गर्दै कर्णाली पुलमा पुगेका १७ जना युवाले एकसाथ कर्णाली नदीमा हाम फालेका थिए । उनीहरू मध्ये १६ जना पौडी खेलेर सकुशल तैरिए पनि शाही भने नदीमै बेपत्ता भएका थिए ।

प्रहरीकाअनुसार माथिल्लो शरीरको कपडा फुकालेर सडकमा डुलिरहेका उनीहरूलाई नदीतर्फ नजान भनिएको थियो तर साथीहरू धेरै पछि भेट भएकाले सामूहिक तस्बिर खिच्न गइरहेको भन्दै उक्त समूह अघि बढेको थियो । कर्णाली नदीमा हाम फालेका मध्येका ६ जनालाई घटनाबारे सोधपुछका लागि नियन्त्रणमा लिइएको  प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्