फ्रान्सको पूनरागमन जित



काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फ्रान्सले चिलीमाथि पूनरागमन जित निकालेको छ । १–० ले पछि परेको स्थितिमा फ्रान्सले घरेलु मैदानमा चिलीमाथि ३–२ को पूनरागमन जित दर्ता गर्न सफल भएको हो ।

फ्रान्सको पूनरागमन जितमा युसोफ फोफाना, रान्दल कोलो मुएनी र ओलिभर जिरुडले गोल गरे । चिलीका मार्सेलिनो नुनेज र डारियो ओसोरियोले गोल फर्काए ।

मार्से फ्रान्समा मंगलबार राति भएको खेलको छैटौं मिनेटमा मार्सेलिनो नुनेजको गोलबाट घरेलु टोली फ्रान्स खेलमा पछि परेको थियो । तर, चिलीको त्यो अग्रता लामो समय टिकेन ।

१९औं मिनेटमा युसोफ फोफानाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले केलियन एमबाप्पेको पासलाई सदुपयोग गरे । २५औं मिनेटमा रान्दल कोलो मुएनीले थियो हर्नान्डेजको पासमा गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।

७२औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै फ्रान्सलाई सहज जिततर्फ अघि बढाए । उनले रान्दल कोलो मुएनीको पासमा गोल गर्न सफल भए । फ्रान्सका सर्वाधिक गोलकर्ता रहेका जिरुडले १३० क्याप जित्दा ५६ अन्तर्राष्ट्रिय गोल पुर्याएका छन् ।

८२औं मिनेटमा डारियो ओसोरियोले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा फ्रान्स जित दर्ता गर्न सफल भयो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्