एसिया कपमा नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने



काठमाडौँ  । एसिसी महिला एसिया कप २०२४ मा नेपालको सहभागिता हुने भएको छ । महिला एसिया कप आगामी साउन ४ देखि १३ गतेसम्म श्रीलङ्कामा हुँदै छ ।

नेपाल क्रिकेट सङ्घ ९क्यान० ले मङ्गलवार एसियाली क्रिकेट काउन्सिल (एसिसी)को विश्वमा महिला क्रिकेटलाई प्रवर्धन गर्ने लक्ष्य अनुरूप एसिया कपमा आठ टिम सहभागी गराउने निर्णय गरेपछि नेपाल भाग्यमानी बनेको हो ।

सन् २०१८ मा छ तथा सन् २०२२ मा भएको पछिल्लो संस्करणमा सात टिमले मात्र खेलेका थिए । सन् २०१२ मा प्रत्येक दुई वर्षमा आयोजना गर्ने निर्णय अनुरूप टी–२० संरचनामा पहिलो पटक महिला एसिया कप खेलिएको हो । तर सन् २०२० मा कोरोना महामारीका कारण यो प्रतियोगिता हुन सकेन ।

गत फागुनमा सम्पन्न एसिसी महिला प्रिमियर कपको सेमिफाइनलमा आयोजक मलेसियासँग नाटकीय तरिकाले चार विकेटले हारेपछि नेपालले एसिसी महिला एसिया कपमा खेल्ने अवसर गुमाएको थियो । सो समय एसीसी महिला प्रिमियर कपको फाइनलमा पुग्ने दुई टिम एसिया कपमा खेल्न योग्य हुने प्रावधान थियो । जसअनुरूप नेपाललाई हराएको मलेसिया र संयुक्त अरब इमिरेट्स एसिया कपमा चयन भएका थिए ।

तर अहिले आइसिसीको नयाँ निर्णयपछि नेपाल मात्र होइन, थाइल्यान्डले पनि एसिया कप खेल्न पाउने भएको छ । नेपालको महिला क्रिकेट टिमले तेस्रो पटक एसिया कप खेल्न लागेको हो । यसअघि सन् २०१२ र २०१६ मा पनि नेपाल महिला एसिया कपमा सहभागी भएको थियो ।

एसिसीले मङ्गलवारै प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । जसअनुसार नेपाल कठिन समूह ए मा रहेको छ । सो समूहमा उपाधि दाबेदार टिमहरू भारत र पाकिस्तानसँगै एसिसी महिला प्रिमियर कप विजेता युएई रहेका छन् । भारत सर्वाधिक सात पटकको विजेतासँगै गत च्याम्पियन टिम पनि हो । नेपालले आफ्नो पहिलो खेल उद्घाटन दिन पाकिस्तानसँग खेल्ने छ । त्यसपछि नेपालले जुलाई साउन ६ गते युएईसँग र साउन ८ गते भारतसँग खेल्ने छ । समूह बीमा बङ्गलादेश, श्रीलङ्का, मलेसिया र थाइल्यान्ड रहेका छन् । यी दुवै समूहमा शीर्ष दुई स्थानमा रहने टिम फाइनलमा पुग्ने छन् ।

प्रतिक्रिया दिनुहोस्