रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया गलत



काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया गलत भएको बताएका छन् । गृहमन्त्री रवि लामिछानेले सडक यातायात सुधार कार्यदलको प्रतिवेदन आफूले अग्रपङ्क्ति बसेर कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ‘ट्राफिक सचेतना विशेष अभियान – २०८१’ को समुद्घाटन कार्यक्रममा गृहमन्त्री लामिछानेले चालकलाई रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने परिपाटी नै गलत भएको दाबी गरे ।

गृहमन्त्रीले भने, ‘ड्राइभरलाई सवारी लाइसेन्स दिने निकाय एउटा छ । त्यो लाइसेन्स प्राप्त गरेको मानिसले सही ढङ्गले सवारी चलाएको छ कि छैन भन्ने कुरा हेर्ने नियमन गर्ने निकाय अर्को छ । रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने जुन परिपाटी छ त्यो परिपाटी नै ठिक छैन । त्यसलाई परिवर्तन गर्नुपर्ने छ ।’

गृहमन्त्री लामिछानेले ड्राइभिङ सेन्टरमा सिकाएको भरमा लाइसेन्स दिने प्रक्रियालाई एकदमै कडाइ गर्नुपर्छ भन्ने पक्षमा आफू नभए पनि राम्रोसँग सवारी बोक्न सक्ने भएपछि मात्र लाइसेन्स दिनुपर्ने कुरामा आफू अडिग रहेको बताए ।

उनले भने, ‘कुनै ठाउँभित्र एट ९८० बनाएर, अलिअलि रोकेर साइड लगाएको भरमा जुन ढङ्गले लाइसेन्स दिइएको छ । यसलाई एकदमै कडाइ गरेर मात्र लाइसेन्स दिनुपर्छ भन्दिनँ । तर सडकमा सवारी बोकेर जाने मानिसलाई ट्राफिक नियम थाहा हुनुपर्छ र राम्रोसँग सवारी बोक्न सक्ने भएपछि मात्र लाइसेन्स दिनुपर्छ भन्ने कुरामा म अडिग छु । बाबुआमाले माया गरेर परीक्षामा यति प्रतिशत अङ्क ल्यायौ भने बाइक किन्दिन्छु भन्नु एउटा कुरा हो । तर, त्यो बाइक गाडी चलाउने हैसियत बनाउनु अर्को कुरा हो । तर लाइसेन्स चाहिँ त्यसरी पाउनुहुँदैन ।’

सीप बिना नै रोड टेस्ट नगरी लाइसेन्स दिने प्रवृत्तिका कारण धेरै दुर्घटना हुने गरेको र त्यसमा बाइक चालकहरूको सङ्ख्या बढी रहेको भन्दै उनले त्यसलाई सुधार्न लाइसेन्स दिने प्रक्रियामै सुधार गर्नुपर्ने बताए ।

लामिछानेले आफूले नेतृत्व सम्हालेपछि ट्राफिक व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै उनले सडक यातायात सुधार कार्यदलको प्रतिवेदन उपलब्ध गराइदिन आग्रह गरे । ‘सडक यातायात सुधार कार्यदलको रिपोर्ट पूरा भएको कुरा आएको छ । त्यो रिपोर्ट जतिसक्दो छिटो मलाइए उपलब्ध गराउनु भयो भने यसको कार्यान्वयनको अग्रपंतिमा म आफू अगाडि बढ्छु र त्यसमा सम्पूर्ण सङ्गठनलाई अगाडि लैजाने म प्रतिबद्धता व्यक्त गर्छु’ गृहमन्त्री लामिछानेले भने ।

प्रतिक्रिया दिनुहोस्