नेपालले आज हङकङसँग खेल्दै



काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कपमा आज नेपालले हङकङको सामना गर्ने भएको छ । खेल मध्याह्न ११:४५ मा अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा सुरु हुनेछ ।नेपाल हङकङलाई हराउँदै सेमिफाइनल यात्रा औपचारिकता मात्रै बाँकी राख्न चाहन्छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो । उता हङकङले पहिलो खेलमा कतारलाई २६ रनले हराउँदा साउदी अरेवियासँग ५५ रनले पराजित भएको थियो ।

शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न हङकङले नेपाललाई हराउनैपर्ने दबाब छ । हङकङ लगातार दोस्रो दिन खेल्दा नेपाल एकदिनको विश्रामपछि खेल्दैछ । त्यसैले नेपाललाई केही फाइदा हुनसक्छ ।

यता कतारविरुद्ध एकै ओभरमा ६ छक्का हानेका दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन् । उनको ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।प्रमुख बलर करण, सोमपाल र अभिनाशले उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ । शीर्षक्रमका ब्याटर आसिफ शेख, कुशल भुर्तेल र रोहित पौडेलले राम्रो स्ट्राइकरेटमा रन बनाउनु पर्ने हुन्छ ।

नेपालले विवेक यादवको स्थानमा करण केसीलाई टोलीमा फर्काउने सम्भावना छ । दोस्रो खेलमा नेपालले करणलाई विश्राम दिएको थियो । यता हङकङका कप्तान निजाकत खान, बाबर हायत, मार्टिक कोट्जी र अंशुमन रथ प्रमुख ब्याटर हुन् । शीर्ष चार ब्याटरमा बढी निर्भर हुँदा समयमै विकेट लिन आवश्यक देखिन्छ । गत मार्चमा त्रिकोणात्मक सिरिजमा नेपाललाई हराउन बाबर हायतले ४९ बलमा ३ चौका र १३ छक्कासहित ११० रनको शतकीय इनिङ खेलेका थिए । नेपालको फ्रेन्चाइज लिग खेल्दै खेलाडीबारे जानकार हायत घातक बन्न सक्ने खेलाडी हुन् ।

१० टोली सहभागी प्रिमियर कपको विजेताले एसिया कप टी–२० प्रतियोगिता खेल्न पाउनेछ । समूह ए मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । साउदी २ खेलमा समान १ मा जित र हारसहित दोस्रो स्थानमा छ । मलेसिया र हङकङको समान खेलमा १ मा जित र १ मा हारसहित २–२ अंक भए पनि नेट रनरेटका कारण तेस्रो र चौथो स्थानमा छन् । कतार २ खेलमा जितविहीन हुँदै पुछारमा छ ।

समूह ‘बी’ मा ओमान र युएईको सुरुवाती २ खेलमा ४–४ अंक छ । नेट रनरेटको कारण ओमान शीर्ष र युएई दोस्रो स्थानमा छन् । कुवेत २ खेलमा १ मा जित र १ मा हारसहित २ अंकका साथ तेस्रो, बहराइन र कम्बोडिया समान २ खेलमा अंक विहीन हुँदै पुछारमा छन् ।

प्रतिक्रिया दिनुहोस्