राजस्थानको लखनऊविरुद्ध सहज जित



काठमाडौँ । जारी इंडियन प्रिमियर लिग ९आईपिएल० को शीर्ष स्थानमा रहेको राजस्थान रोयल्सले अंकदूरी बढाएको छ । नवौँ खेलमा आठौँ जित दर्ता गर्ने क्रममा राजस्थानले लखनऊ सुपर जाएन्ट्स माथि ७ विकेटको सहज जित दर्ता गरेको हो ।

लखनऊले दिएको १९७ रनको लक्ष्य पछ्याएको राजस्थानले ६ बल बाँकी छँदै लक्ष्य ३ विकेट मात्र गुमाएर भेटायो । राजस्थानका लागि कप्तान सञ्जु स्यामसनले ३३ बलमा ७ चौका र ४ छक्का सहित ७१ रन बनाउँदै अविजित रहे ।

यस्तै ध्रुव जुरेल ३४ बलमा ५२ रन बनाएर नटआउट रहे । जोस बटलरले ३४ तथा यशस्वी जैसवालले २४ रन जोडे । लखनउका यश ठाकुर, मार्कस स्टोइनिस र अमित मिश्राले १-१ एकेट लिए ।

त्यसअघि लखनऊमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९६ रन बनायो । लखनऊका लागि कप्तान केएल राहुलले ४८ बलमा सर्वाधिक ७६ रन जोडे । यस्तै दीपक हुडाले ३१ बलमा ५० रन जोडे । आयुष बडोनीले १८ रनमा अविजित रहे ।

राजस्थानका सन्दिप शर्माले २ तथा ट्रेन्ट बोल्ट, आवेश खान र रविचन्द्रण आश्विनले १-१ विकेट लिए ।जित पछि राजस्थान ९ खेलमा १६ अङ्क सहित शीर्ष स्थानमा यथावत् छ । लखनऊ भने ९ खेलमा १० अङ्क सहित चौथो छ ।

आईपिएलमा भोलि हुने दिनको पहिलो खेलमा गुजरात टाईटन्स र रोयल च्यालेन्जर्स बेंगलूरु भिड्ने छन् भने दोस्रो खेलमा चेन्नाई सुपर किङ्स र सनराईजर्स हैदराबाद भिड्ने छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्