आजको दिन वरुथिनी एकादशीमा पूजा गर्दा पापबाट मुक्ति मिल्छ 



काठमाडौँ । आज वैशाख कृष्ण पक्षको एकादशी वरुथिनी एकादशी रहेको छ । यस दिन भगवान् विष्णुसँगै लक्ष्मीको पनि पूजा गरिन्छ । साथै जीवनमा सुख र सौभाग्य प्राप्तिका लागि पनि व्रत बस्ने गरिन्छ । एकादशीका दिन पूजाआजा गर्नाले मनोकामना पूरा हुने जनविश्वास छ । यस दिन पूजा गर्दा वरुथिनी एकादशी व्रतकथा पाठ गर्नुपर्छ। यो बिना सम्पूर्ण व्रत अपूर्ण मानिन्छ। यसबाट शुभ फल प्राप्त हुने विश्वास गरिन्छ ।

श्री कृष्णको शब्दमा

युधिष्ठिरले श्रीकृष्णजीलाई वैशाख कृष्ण पक्षमा पर्ने एकादशीकोको महिमा बताउन अनुरोध गर्दा भगवान् श्री कृष्णको शब्दमा आएको उत्तर जस्ताको तस्तै यहाँ राख्न चाहेँ ।यस लोकमा र परलोकमा पनि सुख९सौभाग्य दिने वरूथिनी एकादशी वैशाख कृष्ण पक्षमा हुन्छ । वरूथिनी एकादशीको व्रतको प्रभावले सर्वता वर्तीलाई सुख शान्ति हुने मात्र नभई समस्त पापको नाश भई नाना प्रकारको सौभाग्यको प्राप्त हुन्छ । विधवा स्त्रीले पनि वरूथिनी एकादशीको व्रत बस्नाले सुख शान्ति पाएर भाग्यमानी हुन्छिन् ।यस एकादशीको व्रत लिनाले मनुष्यहरूको सारा पापलाई नाश गरिदिन्छ र गर्भवासीको दुःखलाई छुटाई दिन्छ ।

सुन दान भन्दा अन्न दान र अन्न दान र कन्यादान भन्दा पनि अझ विशेष महत्त्व बोकेको यो वैशाख कृष्ण पक्षको एकादशी हो । वरुथिनी एकादशीको महत्त्व धेरै व्यापक हुने कथन छ । वरुथिनी एकादशीको महिमा स्वयं भगवान् श्री कृष्णले युधिष्ठिरको जिज्ञासा सुनेपछि बताउनु भएको हो ।

कुरुक्षेत्रमा सूर्य ग्रहणको बेला सुवर्ण दान गर्दा कमाउने पुण्य बराबर वरुथिनी एकादशीको व्रत बस्नाले कमाइन्छ भन्ने धार्मिक मान्यता छ । यस एकादशीको व्रत बस्न अघिल्लो दिन अर्थात् दशमीकै दिनदेखि लसुन प्याज तथा मांसाहारी भोजन त्याग्नुपर्छ भन्ने मान्यता छ । दशमीकै दिन काँसको थालमा एक पटक मात्र भोजन गर्नुपर्छ । एकादशीका दिन बिहानै उठेर स्नान गरी शुद्ध भई व्रत बस्नुपर्छ ।

एउटा विदेशी स्वास्थ्य केन्द्रको अध्ययन अनुसार समय–समयमा व्रत बस्नाले स्वास्थ्य राम्रो हुने र आध्यात्मिक शुद्धिसम्म हुने पुष्टि भएको छ । सनातन धर्म र रीतिहरू यस हिसाबले कति वैज्ञानिक छन् भन्ने पुष्टि पनि गर्छ । एकादशी व्रतमा खानाको मात्र नियन्त्रण हैन । नकारात्मक सोच र तनावको पनि नियन्त्रण गर्दै परमात्मा हरिमा चित्त लगाउन जरुरी बताइन्छ । यसरी वरुथिनी एकादशीको व्रत लिएमा पुण्य प्राप्त हुने र मृत्युपछि सिँधै वैकुण्ठ लोक जान पाउने धार्मिक विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्