सूर्यकुमारको शतकसहित मुम्बईको सहज जित



काठमाडौँ । सूर्यकुमार यादवको शतकको मद्दतमा मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा सोमबार सनराइजर्स हैदराबाद माथि सहज जित दर्ता गरेको छ । मुम्बईले हैदराबादलाई ७ विकेटले हराएको हो ।

हैदराबादले दिएको १ सय ७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमै ३ विकेट मात्र गुमाएर भेट्टायो । मुम्बईका सूर्यकुमारले ५१ बलमा १२ चौका र ६ छक्का सहित १० सय २ रनको अविजित इनिङ खेले । सूर्यकुमारले अन्तिम बलमा छक्का प्रहार गरेसँगै टोलीको जित निश्चित भएको थियो ।

उनलाई तिलक वर्माले अर्कोतर्फ साथ दिएका थिए । तिलकले ३२ बलमा ६ चौका प्रहार गर्दै ३७ रन बनाए । ३१-३ को अवस्थाबाट यी दुई ब्याटरले मुम्बईलाई जित तर्फ डोहोर्याएका थिए । हैदराबादका लागि भुवनेश्वर कुमार, मार्को यानसन र प्याट कमिन्सले समान १ विकेट लिए ।

त्यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङका लागि निम्त्याइएको हैदराबादले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७३ रन जोड्यो । हैदराबादका लागि ट्राभिस हेडले ३० बलमा ७ चौका र १ छक्का सहित ४८ रन जोडे । यस्तै कमिन्सले १७ बलमा ३५ रन बनाए । नितिश रेड्डीले २० रन बनाए ।

मुम्बईका कप्तान हार्दिक पन्ड्या र पियुस चावलाले समान ३ , अंशुल कम्बोज र जस्पृत बुम्राहले समान १ विकेट लिए । जित पछि मुम्बई १२ खेलमा ८ अङ्क सहित नवौं स्थानमा छ । पराजित हैदराबाद ११ खेलमा १२ अङ्क सहित चौथो छ । आइपिएलमा मङ्गलवार दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स भिड्ने छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्