काँग्रेस संसदीय दलको बैठक बस्दै



काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे संसद् भवन नयाँबानेश्वरको ल्होत्से हलमा बस्न लागेको हो । शुक्र बारदेखि सुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाका विषयमा छलफल गर्न काँग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

बजेट अधिवेशनको पहिलो बैठक वैशाख २८ गते दिउँसो २ बजे सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्दै छ । हिउँदे अधिवेशनमा काँग्रेसले सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने उपर छानबिन गर्न संसदीय समिति गठनको माग उठाउँदै आएको थियो । काँग्रेसले संसदीय समिति माग गरिरहँदा ३ वैशाखमा सरकारले हिउँदे अधिवेशन नै अन्त्य गरेको थियो ।

अब शुक्र बारदेखि सुरु हुने बजेट अधिवेशनमा पनि काँग्रेसले आफ्ना माग उठाउने जनाएको छ । बिहीबार बसेको काँग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले सहकारीको रकम अपचलनका विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने मागबाट पछि नहट्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्