सिरोहिया पक्राउपछि बोल्यो अमेरिका- प्रेस स्वतन्त्रता सुनिश्चित गर्न नेपालले सार्थक संवाद गर्नुपर्छ



काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासले नेपाल सरकार सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाली नागरिकसँग सार्थक संवाद गर्ने आशा राखेको बताएको छ ।

दूतावासको आधिकारिक ट्वीट ह्याण्डलमा दूतावासले लेखेको छ, ‘कठिन सङ्घर्षपश्चात् प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले पनि सार्थक संवाद गर्नेछन् भन्ने आशा हामीले राखेका छौँ ।’

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेपछि अमेरिकाको नेपालस्थित दूतावासले ट्वीटरमार्फत यस्तो प्रतिक्रिया जनाएको हो । तर, ट्वीटमा सिरोहिया पक्राउबारे कतै उल्लेख छैन । ट्वीटमा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जबाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्त रहेको उल्लेख छ । लेखिएको छ, ‘अझ परिपूर्ण मुलुक बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जबाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्तहरू हुन् ।’

 

प्रतिक्रिया दिनुहोस्