बंगलादेशविरुद्ध अमेरिकाको लगातार दोस्रो जित



काठमाडौँ । बङ्गलादेशलाई लगातार दोस्रो खेलमा स्तब्ध पार्दै अमेरिकाले ३ खेलको टि ट्वान्टी शृङ्खला एक खेल अगावै जितेको छ । प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा बिहीबार भएको दोस्रो खेलमा अमेरिकाले बंगलादेशमाथि ६ रनको जित दर्ता गर्दै शृङ्खला कब्जा गरेको हो ।

अमेरिकाले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको बङ्गलादेश ३ बल बाँकी छँदै १ सय ३८ रनमा समेटियो । बङ्गलादेशका कप्तान नजमूल होसेन शान्टोले ३४ बल खेल्दै सर्वाधिक ३६ रन बनाए । सकिब अल हसनले २३ बलमा ३० रन जोडे । टोवहिद हृडोयले २१ बलमा २५ रन बनाए ।

अमेरिकाका लागि पेसर अलि खानले ३।३ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । यस्तै सौरभ नेत्रभाल्कर र श्याडली भान शाल्कविकले समान २ विकेट लिँदा जस्दिप सिग्न र कोरी एन्डरसनले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो । अमेरिकाका लागि कप्तान मोनान्क पटेलले ३८ बल खेल्दै सर्वाधिक ४२ रन बनाएका थिए । एरन जोन्सले ३४ बलमा ३५ रन बनाउँदा अर्का ओपनर स्टेभन टेलरले ३१ रन जोडे ।

बङ्गलादेशका शोरीफूल इस्लाम, मुस्तफिजुर रहमान र ऋषाद होसेनले समान २ विकेट लिएका थिए ।शृङ्खलाको पहिलो खेलमा अमेरिका ५ विकेटले विजयी भएको थियो । अन्तिम खेल शनिवार हुनेछ । बङ्गलादेश आउँदो टि-२० विश्वकपमा नेपाल सम्मिलित समूहमा छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्