उपाधिका लागि हैदरावाद र कोलकाता भिड्ने



काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधिका लागि सनराइजर्स हैदरावाद र कोलकाता नाइट राइडर्स भिड्ने भएका छन्। शुक्रवार राति सम्पन्न दोस्रो क्वालिफायरमा राजस्थानलाई ३६ रनले पराजित गर्दै हैदरावादले कोलकातासँगको भेट पक्का गरेको हो।

मङ्गलवार राति सम्पन्न पहिलो क्वालिफायरमा हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाता फाइनलमा पुगिसकेको छ। यी दुई टोलीबीचको फाइनल खेल आइतबार चेन्नईमा हुने छ। हैदरावादले दिएको १७६ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३९ रनमात्रै बनाउन सक्यो।

राजस्थानका ध्रुव जुरेलले अविजित रहँदै सर्वाधिक ५६ रन बनाए। ३५ बल खेलेका उनले ७ चौका र २ छक्का प्रहार गरे। ओपनर यशस्वी जायसवाल ४२ रनमा आउट हुँदा राजस्थानका अन्य ब्याटर चल्न सकेनन्।

हैदरावादका शाहबाज अहमदले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेकका उनले २३ रन खर्चिए। अभिषेक शर्माले २ विकेट लिँदा प्याट कमिन्स र थंगारसु नटराजनको नाममा १/१ विकेट रह्यो। त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७५ रन बनाएको थियो।

क्लासनले सर्वाधिक ५० रन बनाए। ३४ बल खेलेका उनले ४ चौका प्रहार गरे। राहुल त्रिपाठी ३७, ट्रैविस हेड ३४, शाहबाज अहमद १८ र अभिषेक शर्मा १२ रनमा आउट हुँदा प्याट कमिन्स ५ रनमा अविजित रहे।

राजस्थानका ट्रेन्ट बोल्ड र आवेश खानले ३/३ विकेट लिए। सन्दीप शर्माको नाममा २ विकेट रह्यो।

प्रतिक्रिया दिनुहोस्