संसदीय छानबिन समितिको कार्यादेशमा छलफल गर्न शीर्ष नेताको बैठक बस्दै



काठमाडौँ । सहकारीको रकम अपचलन प्रकरणमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन शीर्ष नेताहरूको बैठक आज बस्दै छ । बैठक आज बिहान नौ बजे बस्ने लागेको हो ।

शीर्ष नेताहरूको बैठकले नै संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन नेकपा एमालेका नेता एवम् कानुन मन्त्री पदम गिरीको नेतृत्वमा कार्यदल गठन गरेका थिए । कार्यदलमा मन्त्री पदम गिरी नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता शिशिर खनाल छन् ।

कार्यदलस्तरमा कार्यादेशमा सहमति नजुटेपछि शीर्ष तहमा छलफल हुन लागेको हो । कार्यादेशमा उपप्रधानमन्त्री तथा गृहमन्त्री र रवि लामिछानेको नामै उल्लेख गर्ने कि नगर्ने भन्नेमा सत्तारुढ र प्रतिपक्ष दलबिच सहमति जुटेको छैन । शनिवार पनि कार्यदल स्तरमा छलफल पछि प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरूको बैठक बसेको थियो ।

बैठकमा काँग्रेसले सहकारी सञ्चालकहरू, गोर्खा मिडिया नेटवर्कलगायतका कम्पनीहरू, यसका सञ्चालक समितिका पदाधिकारी, प्रबन्ध निर्देशक र आवश्यक अन्य कर्मचारीका बारेसमेत छानबिन गरिनुपर्ने अडान यथावत् राखेको थियो । आज पनि सहमतिको प्रयास जारी राख्न शीर्ष नेताहरूको बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्