टी२० विश्वकप : भारत र पाकिस्तानको खेल हेर्न दुई करोडको टिकट बिक्री



काठमाडौँ । अमेरिका र वेस्टइन्डिजमा जार टी२० विश्वकप अन्तर्गत आज राति चीरप्रतिद्वन्द्वी भारत र पाकिस्तानबिचको खेल हुँदैछ । समूह ए अन्तर्गत यो खेल नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा राती सवा ८ बजेबाट सुरु हुनेछ । खेल नहुँदै दुवै देशका खेलाडीमाथि मानसिक दबाब बढेको छ भने विश्वकै क्रिकेट प्रेमीहरूको उत्साह पनि बढेको छ ।

रोहित शर्माको कप्तानीमा रहेको भारत र बाबर आजमको कप्तानीमा रहेको पाकिस्तानबिचको खेललाई टी–२० विश्वकपकै सबैभन्दा ठुलो खेलको रूपमा हेरिएको छ । पहिलो खेलमा भारतले आयरल्याण्डविरुद्ध सहज जित निकाल्दा पाकिस्तानले अमेरिकासँग हार बेहोरेर थियो । सुपर–८ मा पुग्ने सम्भावना कायमै राख्न पाकिस्तानलाई यो खेल जित्नै पर्ने दबाब छ ।

यो खेल हारेमा पाकिस्तानको सुपर–८ मा पुग्ने सम्भावना कठिन हुनेछ । २०२२ मा भएको टी–२० विश्वकपमा फाइनलमा पराजित पाकिस्तान त्यसयता खराब प्रदर्शन गरिरहेको छ । भारत भने पछिल्लो समय उत्कृष्ट लयमा छ ।

भारत र पाकिस्तानबीच अहिलेसम्म कुल १२ टी–२० खेल भएका छन् । जसमा भारतले ९ खेलमा जित हासिल गरेको छ भने पाकिस्तानले ३ खेल जितेको छ । त्यस्तै टी–२० विश्वकपमा भारत र पाकिस्तान अहिलेसम्म ७ पटक आमने सामने भएका छन् । जसमा भारतले ५ पटक जितेको छ भने पाकिस्तानले एक पटक जितेको छ । त्यस्तै एक खेल अनिर्णित बनेको थियो ।

दुई करोडको टिकट

विश्व क्रिकेटमा भारत र पाकिस्तानबिचको खेल सधैं चर्चाको विषय बन्ने गरेको छ । यसपटक पनि विश्वकप सुरु हुनुभन्दा निकै अघिदेखि नै भारत र पाकिस्तानबिचको खेलले निकै चर्चा बटुलिरहेको छ । रङ्गशालामा उपस्थित भएर आगामी विश्वकपको खेल हेर्न टिकटको सबैभन्दा कम मूल्य ६ डलर (करिब आठ सय नेपाली रुपैयाँ) रहेको छ । जबकी विश्वकपमा भारत र पाकिस्तानबिच हुने खेलको टिकटको मूल्य ट्याक्सका अतिरिक्त चारसय अमेरिकी डलर (करिब ५३ हजार नेपाली रुपैयाँ) राखिएको छ ।

भारत र पाकिस्तानबिचको टिकटको मूल्य बढी हुनुको प्रमुख कारण यी दुई राष्ट्रबिच द्विपक्षीय शृंखला नहुनु पनि हो । समर्थकहरुले आईसीसी र एसीसीले आयोजना गर्ने प्रतियोगिताहरुमा मात्र यी दुई टोलीबिचको भिडन्तको आनन्द उठाउन पाउँछन् ।

आजको खेल हेर्न दुबै देशका समर्थक ठूलो धन राशी खर्च गरेर अमेरिका पुगेका छन् । सोही कारणले खेलमा टिकट अवैध रुपमा पनि किनबेच हुन थालेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार, सीटगीक प्लेटफर्ममा त भारत र पाकिस्तानबिचको खेलको टिकटको मूल्य एक लाख ७५ हजार अमेरिकी डलरसम्म (करिब दुई करोड ३१ लाख नेपाली रुपैयाँ) राखिएको छ ।

राजनीतिक रूपमा पनि चर्चाको शिखरमा रहेका यी दुई देशबीचको खेल पनि चर्चामै रहने गर्दछ । भारत र पाकिस्तानबिचको क्रिकेट भिडन्तलाई एक अर्काको प्रतिष्ठासँग जोडेरसमेत हेरिने गरिएको छ । क्रिकेटमा निकै बलिया दुई हस्तीबीचको खेलले पनि यसपालिको विश्वकप हेर्न लायक रहनेछ ।

प्रतिक्रिया दिनुहोस्