‘अन्तर्राष्ट्रिय शान्ति विश्वविद्यालय’ स्थापना गर्ने सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन



काठमाडाैं । प्रतिनिधिसभाको बैठकले कोस्टारिकामा शान्ति विश्वविद्यालय स्थापना गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । मंगलबारको प्रतिनिधिसभाको बैठकले ‘अन्तर्राष्ट्रिय सम्झौताको सम्मेलन गर्ने सम्बन्धी प्रस्ताव’ पारित गरेको हो ।

छलफलमा सहभागी भएका सत्तारूढ दल नेकपाका संसदीय दलकाे प्रमुख सचेतक देव गुरूङले महासन्धि पास गर्ने प्रस्ताव सकारात्मक भएपनि अंग्रेजी अनुवादमा कतिपय भाषाहरु अस्पष्ट भएकाले स्पष्ट पारेर अघि बढ्नुपर्ने सुझाव दिए । नेकपा अर्का सांसद खगराज अधिकारीले कोस्टारिकामा शान्ति विश्वविद्यालय स्थापना गर्ने प्रस्ताव प्र्रसंशनिय रहेको बताए ।

कांग्रेस संसदीय दलकाे सचेतक पुष्पा भुसालले शान्ति विश्वविद्यालय स्थापना गर्ने सम्बन्धी अन्तराष्ट्रिय सम्झौता अनुमोदन गर्नु अगाडि विश्वविद्यालयको पाठ्क्रमलाई छलफलको विषय बनाइनुपर्ने बताइन् । कुनै पनि नेपाली नागरिक अन्तराष्ट्रिय शान्ति विश्वविद्यालयमा पढेर आइसकेपछि शिक्षा मन्त्रालय वा नेपालको विश्वविद्यालयको राय के हुने भन्ने बारे पहिले नै स्पष्ट हुन जरुरी रहेको बताइन् ।

प्रतिपक्षी नेमकिपाका सासंद प्रेम सुवालले शान्ति विश्वविद्यालय बनाउनु राम्रो भएपनि पाठ्यक्रम राम्रो बन्न सकेन भने अपेक्षाकृत उपलब्धि नहुने बताए । उनले पाठ्क्रम निर्माणमा उचित ध्यान दिनुपर्नेमा जोड दिए । सांसद सुवालले सामराज्यवाद र पूँजीवादको समाप्त नभएसम्म शान्ति सम्झौता अनुमोदन गर्देमा शान्ति नआउने तर्क गरे ।

नेकपाका सांसद नवराज सिलवालले नयाँ पुस्तालाई द्धन्द्धको त्राशबाट बँचाइ शान्ति स्थापनार्थ अघि बढ्नुपर्ने बताए । कोस्टारिकामा स्थापना हुने शान्ति विश्वविद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने दाबी गरे । उनले नेपालले लामो समयदेखि अन्तर्राष्ट्रियस्तरमा शान्ति स्थापनामा संयुक्त राष्टसंघलाई सहयोग पुर्याउदै आएको परिवेशमा सम्झौता पास गर्दा अन्तराष्ट्रियस्तरमा नेपालको प्रतिष्ठा बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्