त्रिभुवन विश्वविद्यालयमा ‘निःशुल्क वाइफाइ’



काठमाडौं : त्रिभुवन विश्वविद्यालयलाई सूचना प्रविधिसँग जोड्नका लागि ‘निःशुल्क वाइफाइ’ क्षेत्र घोषणा गरिने भएको छ । यसका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको बताइएको छ । 

सूचना प्रविधिको प्रयोग गरेर शिक्षा प्रदान गर्न र विद्यार्थीलाई सूचनामा सहज पहुँच पुर्‍याउनका लागि कीर्तिपुरस्थित त्रिविलाई पहिलोपटक निःशुल्क वाइफाइ क्षेत्र घोषणा गर्न लागिएको त्रिवि योजना निर्देशनालयका कार्यकारी निर्देशक प्राध्यापक डा. ऋदीशकुमार पोखरेलले जानकारी दिए । ‘त्रिविका हरेक कामकारबाही सूचना प्रविधिमार्फत गर्नका लागि निःशुल्क वाइफाइ क्षेत्र बनाउन लागिएको हो’, उनले भने, ‘अब त्रिविका हरेक क्रियाकलाप सूचना प्रविधिबाट हुन्छ ।’

 

त्रिविलाई कागजविहीन बनाउन र विद्यार्थीलाई सूचना प्रविधि प्रयोग गरेर शिक्षा प्रदान गर्नका लागि वाइफाइ क्षेत्र बनाउन लागिएको हो । अबको एक महिनाभित्र त्रिविलाई निःशुल्क वाइफाइ क्षेत्र घोषणा गरिने भएको हो । यसका लागि त्रिविले नेपाल टेलिकमसँग सम्झौता गरिसकेको छ ।

 

अहिले त्रिवि क्षेत्रभित्र सबै स्थानमा वाइफाइका लागि अप्टिकल फाइबर बिछ्याउने कामसमेत तिव्रगतिमा भइरहेको छ । अप्टिकल फाइबर बिछ्याउने काम एक महिनाभित्र सकिने छ । उप्टिकल फइबर बिछ्याउने काम सकिएपछि ‘निःशुल्क वाइफाइ’ क्षेत्र घोषणा गरिने छ । त्रिविलाई सूचना प्रविधिमैत्री बनाउनका लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

 

त्रिविको निश्चित क्षेत्रमा प्रवेश गर्नासाथ सबैको कम्युटर, ल्यापटप र मोबाइलमा निःशुल्क इन्टरनेट हुनेछ । पहिलो चरणमा त्रिविको केन्द्रीय क्याम्पसमा निःशुल्क वाइफाइ घोषणा गरिएपनि पछि विस्तारै देशभरिका आफ्ना आंगिक क्याम्पसमा पनि यो योजना लागू गर्ने लक्ष्य रहेको निर्देशक प्राडा.पोखरेलले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्