अनुसन्धान समितिले गुपचुप बु्झायाे प्रतिवेदन



काठमाडौं : कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्याबारे छानविन गर्न बनेको उच्चस्तरीय समितिले गृहमन्त्री रामबहादुर थापालाई गुपचुपमा प्रतिवेदन बुझाएको छ। 

 

प्रतिवेदनबारे समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीलाई बाहिर राखेर गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रतिवेदन बुझेका हुन्। छानविन समितिका संयोजक हरिप्रसाद मैनालीले मन्त्री थापालाई प्रतिवेदन बुझाएका हुन्।

 

के छ प्रतिवेदनमा ? 

गत भदौ ७ गते गठित समितिले बुझाएको प्रतिवेदनमा प्रहरीका कयौँ कमजोरी औंल्याइएको छ। स्रोतका अनुसार प्रतिवेदनले गम्भीर प्रकृतिका घटनामा तत्कालै प्रहरीले ‘एक्सन’ नलिँदा घटनाले ठूलो रुप लिएको उल्लेख गरिएको छ। 

 

'निर्मला हत्याको अनुसन्धानमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्टले चासो नदेखाउनुले घटनाबारे उनी पूर्वजानकारी रहेको हुनसक्ने आशंका व्यक्त गरिएको छ', प्रतिवेदनबारे उल्लेख गर्दै समितिका एक सदस्यले भने । समितिले विष्टमाथि अनुसन्धान गर्दा थप प्रमाण फेला पर्नेमा ढुक्क हुन सकिने एकिन गरेको छ।

बोलेनन् मैनाली 

समितिका संयोजक तथा सहसचिव मैनाली प्रतिवेदनबारे पत्रकारसँग खुलेर बोल्न मानेनन्। 'मैले प्रतिवेदन बुझाएँ। प्रतिवेदन भित्र के छ त्यो मैले बोल्न मिल्दैन,' पत्रकारसँग उनले यति मात्रै भने । 

राजनीतिक घुसपैठ

समितिले पन्त हत्यापछि कञ्चनपुरमा एक्कासी जनलहर उत्रिनुमा ‘राजनीतिक घुसपैठ’ भएको निर्क्यौल गरेको छ। 'प्रहरीले घटनालाई सामान्यरुपमा लिनु र पीडितपक्षले आरोप लगाएका व्यक्तिमाथि गम्भीर नहुनुले प्रहरीको कामकारबाही शंकाको घेराभित्र छ यसमा थप अनुसन्धान हुनुपर्छ,’ प्रतिवेदनबारे स्रोतले भन्यो,‘ असम्बन्धित व्यक्तिमाथि दोष थोपरेर मुख्य अभियुक्त उम्काउन खोजिएको देखियो।’

 

प्रतिवेदनले बलात्कारपछि हत्या जस्तो गम्भीर र संवेदनशील घटनाका पीडितलाई समयमै सम्बन्धित पक्षले सम्बोधन नगर्दा घटनाले उग्ररुप लिएको निचोड निकालेको 'प्रहरीले जनविश्वास गुमाएपछि न्याय खोज्न जाने सर्वसाधरणले सरकारको ध्यानाकर्षणका लागि सडकमा आउनु स्वभाविकै हो,’ प्रतिवेदनमा भनिएको छ,‘यस्ता गम्भीर विषयमा प्रहरी चुक्नु भएन।’ 

 

एसपी विष्टबारे प्रश्न 

समितिले प्रतिवेदनमा प्रहरी कार्यालयमा सुपरिवेक्षण अभाव रहेको पनि खुलाएको छ। एसपी विष्ट विवादित व्यक्ति हुँदाहुँदै जिल्लाको इन्चार्ज बनाएर पठाउँदा ख्याल नगरिएकोमा पनि समितिले प्रहरी प्रधान कार्यालयमाथि प्रश्न गरेको छ। 

 

अरोपित व्यक्ति खडा गर्दा भनेको र सुनेको आधारमा भन्दा पनि प्रमाणमुखी हुनुपर्नेमा प्रहरी चुकेकेको विषय प्रतिवेदनले उठान गरेको छ। प्रहरीले पक्राउ परेका दिलीपसिंह विष्टलाई मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो। 

 

निर्मलाको भिजनल स्वाबसँग विष्टको डिएनए नमिलेपछि उनी छुटेका थिए। प्रतिवेदनले घटनास्थललाई सुरक्षित नगर्दा प्रमाणहरु गायब हुने जानकारी हुँदाहुँदै पनि प्रहरी लापरबाही देखिएको प्रतिवेदन उल्लेख छ।

 

प्रतिवेदन बुझेपछि गृहमन्त्री थापाले समितिले औंल्याएका सुझाव पूर्ण कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए। गत साउन १० गते साथीको घर गएको बेला निर्मलाको बलात्कारपछि हत्या भएको थियो। 

याे खबर हामीले अाजकाे अन्नपूर्ण पाेस्ट दैनिकबाट लिएका हाैं । 

प्रतिक्रिया दिनुहोस्