उनलाई यहाँसम्म ल्याउन उनकाे बुवालाई धेरै सम्झाएँ : शृंखलाकी अामा



काठमाडाैं :  मिस वल्ड २०१८ को प्रतिस्पर्धाको जारी अनलाइन भोटिङमा मिस नेपाल शृंखला खतिवडा धेरै मत ल्याउने प्रतिस्पर्धी हुन् ।

 

तर नेकपाका एक सांसदकी छोरी उनले मिस नेपालको प्रतिस्पर्धामा सहभागी हुन संघर्ष गर्नुपरेको थियो । सुरुमा त उनलाई आफ्नो बुवासँगै अनुमति लिन कठिन परेको थियो । उनको चर्चाको एउटा पाटो राजनीतिक पृष्ठभूमिको परिवारबाट हुनु पनि हो ।

 

विगतमा मिस नेपाल प्रतियोगिताको विरोधमा उत्रिने माओवादीसँग एकता गरेको तत्कालीन एमाले र अहिले नेकपाका सांसद विरोध खतिवडा र तत्कालीन नेकपा एमालेकी मकवानपुर जिल्ला अध्यक्ष भइसकेकी प्रदेश सांसद मुनु सिग्देलकी छोरी हुन् उनी ।

 

उनको निम्ति मिस नेपाल प्रतियोगिताको ढोका खोल्न आफूले सघाएको आमा मुनुले खुलाइन् । ‘सुरुमा उसको बुवाले मान्नुभएको थिएन । खासमा शृंखलाले मसँग पहिला कुरा राखेकी बेला मलाई पनि यो हाम्रो क्षेत्र होइन नै भन्ने लागेको थियो । पछि उसले मिस नेपालमा आफ्नो प्रतिभा देखाउने र त्यसमा पाएको ख्यातिले समाज सेवा गर्ने कुरा गरेपछि अनुमति दिन मैले पनि बुवालाई सम्झाएँ ।

 

त्यसअघि मैले मेरा पार्टीका सहकर्मीहरुसँग यसबारे छलफल गरेकी थिएँ । नेपाल कम्युनिस्ट पार्टी नेकपका नेताहरूले पनि शृंखलाका बारेमा सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

शंकर पोखरेल र योगेश भट्टराईले उनको परिचयात्मक भीडीओ ट्विट गरेका छन् । सामाजिक सञ्जालमा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाली प्रतिस्पर्धीको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शनी भन्दै उनको प्रशंसा पनि भएको छ । 

 

कतिपयले सामाजिक सञ्जालमा शृंखला सबैभन्दा क्षमतावान प्रतियोगी मानेका छन् । र जित्ने पनि दाबी गरेका छन् । तर, मिस वल्र्डको प्रतिस्पर्धा नेपालीको निम्ति चुनौतीपूर्ण हुने बताउँछन् पूर्व मिस नेपालहरू । तिनै मध्येकी माल्भिका सुब्बा भन्छिन्, ‘पहिलो त नेपाल आर्थिक रुपमा बलियो छैन । त्यसैले जत्तिकै प्रभावशाली प्रतियोगी पठाए पनि उनलाई जित्न गाह्रै हुन्छ । त्यसबाहेक उनीहरुले उपर्युक्त तालिम पाएका हुँदैनन्, र त्यहाँ विभिन्न नियम हुन्छन्, जसलाई हामीले कहिलेकाहीँ पूरा गर्न पनि सक्दैनौं । यस्ता कुराले फरक पार्छ ।’

शृंखलाका आमा मुनुका अनुसार पारिवारिक वातावरणले छोरीका नेतृत्वदायी क्षमता अभिवृद्धि गरको छ । त्यसैले यो प्रतियोगितामा उनालाई राम्रै मद्दत मिल्नेछ । जारी प्रतियोगितामा उत्कृष्ट मोडलको प्रतिस्पर्धामा उनी शीर्ष ३० मा परेकी छन् । बाँकी मल्टिमिडिया, ब्युटी विध पर्पोज र अन्य उपाधिका लागि आफूले राम्रो पदर्शन गर्ने अपेक्षा उनले राखेकी छन् । 

प्रतियोगिताको मुख्य प्रतिस्पर्धा भने डिसेम्बर ८ मा हुँदै छ । जसमा एक सय २० देशका सुन्दरीहरु प्रतिस्पर्धामा उत्रिएका छन् । बीबीसी

प्रतिक्रिया दिनुहोस्