बिरामी गाई सडकमा फाल्नेको हिरासतमा बास



ललितपुर : बिरामी भएपछि आफूले पालेको गाई सडकमा फालेको आरोपमा एक पशुधनी पक्राउ परेका हुन्। गाई फालेको आरोपमा ललितपुर महानगरपालिका १५, खुमलटारमा गाईपालन गर्दै आएका केदारनाथ घिमिरे पक्राउ परेका हुन्। 

 

धुलिखेलका घिमिरेले गोठमा गाई बिरामी भएपछि सडकमा छोडेका थिए।एक सामाजिक संस्थाको उजुरीका आधारमा महानगरीय प्रहरी वृत्त, सातदोबाटोले शुक्रबार उनलाई पक्राउ गरेको हो। शुक्रबार नै पाँच दिनको म्याद थप गरेर उनीमाथि अनुसन्धान भइरहेको वृत्तका प्रमुख गौतम मिश्रले जानकारी दिए। 

 

भदौदेखी जारी भएको नयाँ मुलुकी अपराध (संहिता) ऐनले यस्ता निन्दनीय काम गर्नेलाई पक्राउ गर्न सजिलो बनाएको मिश्रको भनाइ छ। 

 

पशुमाथि हुने निन्दनीय व्यवहार गर्न नहुने प्रावधानलाई टेकेर घिमिरेमाथि अनुसन्धान थालिएको मिश्रको भनाइ छ। ‘बारम्बार यस्ता घटना दोहोरिएकाले पक्राउ गरिएको हो’, उनले भने, ‘यो घटनाले अरुलाईसमेत सर्तक गर्छ।’ 

 

ललितपुर महानगरपालिका २३ नम्बरका अध्यक्ष भुयुकाजी महर्जनले उनको कार्यालय नजिकै गाई देखेपछि सामाजिक संस्था स्नेहाज केयरलाई जानकारी गराएका थिए। 

 

स्नेहाज केयरले सातदोबाटो वृत्तमा किटानी दिएको हो। किटानी  जाहेरीको आधारमा अनुसन्धान गर्दा  घिमिरे दोषी देखिएपछि पक्राउ गरेको प्रहरी भनाइ छ। वडा नम्बर १५ का अध्यक्ष सुदर्शन मिश्रले सातदोबाटोमा एक महिनाको अवधिमा सडकमा छोडिएका कम्तिमा दुई दर्जन  गाईबाच्छा देखिएको बताए। 

 

मुलुकी अपराध (संहिता) ऐनको परिच्छेद २७ को दफा २९० मा रोगी तथा वृद्ध पशुलाई सार्वजनिक रुपमा छोड्न नमिल्ने, निर्दयी क्रुर व्यवहार गर्न नमिल्ने, कुनै घाउ खटिरा या रोग लागेमा हानिकारक वस्तु सेवन गराई यातना दिन नपाइने, आफूले पालेका पशुपंक्षी वृद्ध या रोगी भएमा सार्वजनिक रुपमा छोड्न नमिल्नेलगायतका प्रावधान उल्लेख गरिएका छन्।

प्रतिक्रिया दिनुहोस्