प्रमुख अतिथि नबनाउँदा पत्रकार झपारे राजदुतले



काठमाडाैं : नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको अधिवेशनमा आफूलाई प्रमुख अतिथि नबनाएको भन्दै दक्षिण कोरियाका लागि नेपाली राजदुतले पत्रकारलाई झपारेका छन्।

 

कार्यक्रममा उपस्थित राजदूत अर्जुन जंग बहादुर सिंहले बरियता मिचेर महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य भन्दा आफूलाई तल पारिएको भन्दै आक्रोश व्यक्त गरेका हुन्। उनले निमन्त्रणा पत्रमा आफूलाई प्रमुख अतिथिको रुपमा उपस्थित हुन भनिएको तर कार्यक्रममा विशिष्ट अतिथि बनाइँदा आफ्नो अपमान गरिएको बताए।

 

बोल्दा सम्पूर्ण समय पत्रकारको आलोचनामा खर्चिएका सिंहले आगामी दिनमा आफूलाई प्रमुख अतिथि नबनाइए दूतावास र सरकारलाई नै सह्य नहुने भन्दै झपारे। प्रमुख अतिथि नबनाइएको आक्रोसमा राजदूत सिंहले भने, ‘यति कुरा पनि थाहा नहुनेले के को महासंघ खडा गर्दै हुनुहुन्छ, पित्तकारिता हो यो तपाइहरूको, पत्रकारिता होइन।’ 

 

तर, महासंघ कोरियाका निवर्तमान अध्यक्ष खेम कार्कीले पत्रमा विशिष्ट अतिथि नै उल्लेख गरिएको बताउँदै राजदूतले पत्र नहेरी आउँदा गलत बुझाइ हुन गएको बताए। 

 

महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले कार्यक्रममा वरीयताको विषयलाई लिएर राजदूतद्धारा पत्रकारलाई गरिएको दुव्र्यहारले आफू चिन्तित बनेको भन्दै यो विषय पत्र काटेरै सरकारलाई जानकारी गराउने बताए।

 

राजदूत वरीयतामा १५ औं नम्बरमा पर्ने भए पनि कुनै पनि संस्थाको कार्यक्रममा संस्थाकै मुख्य व्यक्ति प्रमुख अतिथि हुने उनको तर्क थियो।

 

अन्य देशमा आफू जाँदा प्रमुख अतिथि आफूलाई नै बनाइएको स्मरण गराउँदै आचार्यले राजदूतको व्यवहारले यहाँका नेपालीलाई दुतावासले गर्ने व्यवहार झल्काउने बताए।

प्रतिक्रिया दिनुहोस्