बालकरामले छेडे जिब्रो



बालकरामले छेडे जिब्रो

भक्तपुर : मध्यपुर थिमी नगरपालिका–५ चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेडेका छन् । उनले मङ्गलबार राति ८ बजे मध्यपुरथिमी नगरपालिका दिगु भैरव मन्दिरको मण्डपमा जिब्रो छेडेका हुन् । 

विसं २०६३ देखि रोकिएर गत वर्षदेखि शुरु भएकोे थिमीको जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिन यस वर्ष उनले हजाराैँ मानिसको अगाडि जिब्रो छेडेका हुन् । जिब्रो छेडाउने व्यक्ति मध्यपुर थिमीको श्रेष्ठ थरकै हुनुपर्ने चलन छ । ‘चेंया पुन्हिया मेय प्वा ः खनेगु’ जात्रा व्यवस्थापन समितिको संयोजनमा उनले जिब्रो छेडेका हुन् ।

 

जिब्रो छेड्नुअघि थिमी लाय्कुका नायो पमाहरु गई हनुमानढोका लाय्कु (दरबार)बाट राजाको चिनो (खड्ग) लिएर आएको केहीबेर पछि जिब्रो छेडिएको थियो । 

मङ्गलबार दिगु भैरव मन्दिरको मण्डपमा जिब्रो छेडाएर मानन्धर थरका व्यक्तिले बालेको यास्मता (लामो तीनवटा बत्ती) अघिपछि राखी जिब्रो छेडाउने बालकरामले चन्द्राकारको मसालजस्तो बनाइएको भ्वाय्अर्थात् महाद्वीप बोकेर नगरपरिक्रमा गरेका थिए ।

 

जिब्रो छेडाएर नगरपरिक्रमा गरिसकेर बालकुमारी मन्दिरमा आएर सियो निकालेर मन्दिरकै खम्बामा गाडेपछि जात्रा सम्पन्न भएको हो । विगतमा यस दिन एकैपटक २७ जनासम्मले जिब्रो छेडाएको भेटिन्छ । उक्त जात्रालाई धेरै वर्ष पहिला पशुपति, गुह्ेश्वरीदेखि चाँगुनारायणसम्म लैजाने गरे पनि अहिले भने थिमी विभिन्न टोल घुमाउने गरेको समितिका सचिव हरिसुन्दर श्रेष्ठले बताए ।  

छेडाएर प्वाल बनेको जिब्रोमा बालकुमारी मन्दिरको माटो लगाए घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनुनपर्ने जनविश्वास छ । जिब्रो छेडाउँदा दैवी शक्तिप्राप्त हुनेसमेत विश्वास रहिआएको छ । जिब्रो छेडाएका बालकरामले भने, “कृष्ण नानिचा श्रेष्ठले तीन पटकसम्म जिब्रो छेडेकाले आफू पनि यो जात्रा नरोकियोस् र निरन्तरता पाओस् भनेर जिब्रो छेड्न तयार भएको हुँ ।”  रासस

प्रतिक्रिया दिनुहोस्