४८ दिनपछि प्रदेश ३ को सभा बस्दै, राजधानीको विषयले अझै प्रवेश नपाउने



हेटौँडा : प्रदेश ३ को सभा ४८ दिनपछि आज बस्दै छ । राजधानीबारे प्रस्ताव नल्याएको भन्दै सांसद्ले आवाज उठाउन थालेपछि दसैँअघि बैठक स्थगित गरिएको थियो ।

बैठकमा स्थायी राजधानी निर्धारण गर्नेबारे प्रस्ताव भने पेस नहुने भएको छ । सहमति जुट्न बाँकी रहेकाले राजधानीबारे प्रस्ताव पेस नहुने सभामुख सानुकुमार श्रेष्ठले बताए । ‘सहमति जुटेकै छैन,’ उनले भने, ‘त्यसकारण प्रदेश सभाको आगामी बैठकमा राजधानीबारे प्रस्ताव पेस हुँदैन ।’ 

राजधानीका विषयमा दलबीच छलफल हुन नसकेको उनले बताए । ‘दलबीच छलफल नै हुन सकेको छैन अनि कसरी बैठकमा प्रस्ताव ल्याउने ?’, श्रेष्ठले भने ।

सभामुख श्रेष्ठले आगामी बैठकमा ६ वटा विधेयकमाथि छलफल हुने बताए । उनका अनुसार सोमबारको बैठकमा प्रदेश सञ्चारमाध्यम विकास तथा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश सवारी र यातायात व्यवस्था गर्न बनेको विधेयक र प्रदेश प्राविधिक शिक्षा सञ्चालन र व्यवस्थापन गर्न बनेको विधेयक पेस हुनेछ । 

प्रदेश खेलकुद विकास तथा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश कार्यसम्पादनका लागि कोष व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश संस्था दर्ता गर्न बनेको विधेयक पनि प्रस्तुत हुनेछ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्