विश्व रेकर्ड राख्ने वन्दनाको दाउ, निरन्तर १२६ घन्टा नृत्य गर्दै



काठमाडौं : नृत्यमा विश्व रेकर्ड, त्यो पनि लगातार एक सय २६ घण्टा नाचेर। झट्ट सुन्दा पत्याउन गाह्रो हुन्छ । तर यति बेला पत्याउन गाह्रो हुने काम गर्दैछिन् धनकुटाकी वन्दना नेपाल । उनी मंसिर ७ गतेदेखि निरन्तर नाचिरहेकी छिन् । उनी सबैभन्दा लामो समय नृत्य गरेर रेकर्ड राख्ने प्रयासमा छिन् । १७ वर्षीया वन्दना मंसिर ७ को बिहान ९ बजेदेखि काठमाडौंस्थित बिग फुडल्यान्डमा नृत्य गरिरहेकी छन् ।

बाल्यकालदेखि नै नृत्य गर्न रुचाउने वन्दनाले भारतबाट समेत नृत्य प्रशिक्षण लिएकी छिन् । उनी चेल्सी इन्टरनेसनल कलेजमा अध्ययनरत छिन् । नेपालको कला संस्कृति विश्वसामु चिनाउन वन्दनाले नाचेर विश्व रेकर्ड राख्न चाहेको वन्दना नेपाल फाउन्डेसनका संयोजक सन्तोष लामाले बताए । हाल सबैभन्दा लामो समय नाचेको रेकर्ड भारतको केरलाकी कला मण्डलम् हेमलथाको नाममा छ । उनले एक सय २३ घण्टा १६ मिनेट नृत्य गरेर विश्व रेकर्ड बनाएकी हुन् । हेमलथाले २०१६ मा बनाएको सो रेकर्ड तोड्ने योजना वन्दनाको छ ।

वन्दनाले पुराना नेपाली गीतमा नृत्य जारी राखेकी छन् । नृत्य सुरु गर्नु केही दिनअघि उनले पत्रकार सम्मेलन गरेर आफ्नो योजनाबारे जानकारी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्