जाडोमा बच्चाको हेरचाह कसरी गर्ने ?



जाडो याम बच्चाका लागि एकदमै संवेदनशील हुन्छ । बच्चाको छालामुनि बोसोको मात्रा कम हुने भएकाले उनीहरू चिसोबाट बढी प्रभावित हुने गर्छन् । बच्चामा रोग प्रतिरोधात्मक क्षमता पनि कम हुन्छ । यसले गर्दा उनीहरूलाई रोगले चाँडै सताउने सम्भावना रहन्छ । जाडो मौसममा नवजात शिशुको शरीरको तापक्रम कम हुन्छ । फलस्वरूप चिसो लाग्ने सम्भावना बढी हुन्छ ।

खासगरी पाँच महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई रुघाखोकी, निमोनिया, श्वासप्रश्वास समस्याजस्ता रोगले बढी सताउने हुन्छ । चिसो मौसममा बालबालिकामा प्राणघातक रोग रोटा भाइरस लाग्ने सम्भावना बढी हुन्छ । तसर्थ यसबाट उनीहरूलाई बचाउन अभिभावक चनाखो हुन जरुरी छ । अभिभावकले बच्चालाई चिसो लाग्न नदिने, व्यक्तिगत सरसफाइ तथा खानपानमा ध्यान दिने गर्नुपर्छ । यसका साथै प्रशस्त मात्रामा जीवनजल, जिंक चक्की आदि खुवाउनुपर्छ ।

यसरी बचाउनुहोस् चिसोबाट

न्यानो कपडा लगाइदिने

बच्चालाई चिसोबाट बचाउन न्यानो लुगा लगाइदिनुपर्छ । बच्चालाई न्यानो राख्ने नाममा धेरै बाक्लो लुगा पनि लगाइदिनुहुँदैन । बढी बाक्लो लुगा लगाउँदा पसिना आउँछ । सो पसिना शरीरमै सुक्ने भएकाले उनीहरूमा रुघा लाग्ने, निमोनिया हुने सम्भावना रहन्छ । अझ कपासको लुगाले त पसिना सोस्ने भएकाले बारम्बार चिसो भइरहन्छ ।

 

घाम तपाउने

बच्चालाई न्यानो राख्न सूर्यको ताप पनि आवश्यक पर्छ । मध्याह्न १२ बजेभन्दा अघिको घाममा बच्चालाई सुताउन उपयुक्त हुन्छ । घाम तपाउने क्रममा तोरीको तेल, नरिवलको तेल वा ओलिभ आयलले मालिस गरिदिनु राम्रो हुन्छ । कान, नाक, नाइटोमा तेल लागेमा संक्रमणको खतरा हुन्छ । यसर्थ, सजग होऔँ ।

 

सरसफाइमा ध्यान दिने

जाडोयाममा चिसो लाग्छ भनेर बच्चालाई धेरै दिनसम्म ननुहाई राख्ने गरेको पाइन्छ । यो गलत हो । बच्चामा कतिपय रोग सरसफाइको कमीका कारणसमेत लाग्ने गर्छन् । त्यसैले बच्चा र आमा दुवैको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । नियमित नुहाइदिएमा खटिराजन्य रोग र रुघाखोकीबाट बचाउन सकिन्छ ।

 

फलफूल तथा झोलिलो खानेकुरा प्रशस्त खुवाउने

जाडो मौसममा चिसोले भेट्ने डरले कतिपय अभिभावक बालबालिकालाई फलफूल खुवाउन डराउने गरेको पाइन्छ । मौसमअनुसारका ताजा फलफूल तातोपानीले पखालेर खुवाएमा चिसोले भेट्दैन ।

 

हिटर तथा आगो बाल्दा ध्यान दिने

बच्चालाई चिसोबाट बचाउन भनेर हिटर बालिन्छ । बन्द कोठामा हिटर बाल्दा कार्बनमोनोअक्साइड ग्यास उत्पन्न हुन्छ । यसले बच्चालाई मात्र नभएर ठूलै मानिसलाई समेत असर पार्छ । सुतेका बेला हिटर बालेकै कारण कोठामा अक्सिजन कम भएर मानिसको मृत्युसमेत हुन सक्छ । त्यसैले मट्टीतेल हिटर, ग्यास हिटर, कोइला आदि कोठामा बाल्दा सजग हुन आवश्यक छ ।

 

प्रतिक्रिया दिनुहोस्