‘योजनामा आधारित बजेटले प्रदेशको विकासलाई सही बाटोमा लैजान्छ’



बुटवल : मुख्यमन्त्री शंकर पोखरेलले छिट्टै प्रदेश ५ सरकारले आवधिक योजना ल्याउने बताएका छन् । 

प्रदेश ५ को आवधिक योजना तर्जुमा सम्बन्धमा सुझाव संकललन गोष्ठीको सोमबार घोराहीमा समापन गर्दै उनले यस्तो जनताको जीवनस्तर सुधार्ने खालको विकासको मोडेल आवश्यक रहेको बताएका छन् । योजनाबाट प्रतिफल पाउने समुदायसँग जोडिएर योजना बनाउँदा प्रभावकारी हुने भएकाले आवधिक योजना निर्माणमा स्थानीयस्तरमै छलफल कार्यक्रम चलाइएको पनि उनले बताए । 

मुख्यमन्त्री पोखरेलले अहिले आवधिक योजनाको अभावमा योजनामा आधारित बजेट आउन नसकेको भन्दै आवधिक योजना बनेपछि योजनामा आधारित बजेट आउने स्पष्ट पारे । ‘प्रदेशको बजेट अवधारणामा आधारित छ । बजेट योजनामा आधारित हुन्छन्’, उनले भने ‘योजनामा आधारित बजेटले प्रदेशको विकासलाई सही बाटोमा लैजान्छ । हामीले लक्षित उद्देश्य हासिल गर्न सक्छौं ।

कृषिको व्यावसायिक विकास र नयाँ पुस्ताको आकर्षण गरी उत्पादन बढाउने कार्यक्रममा विशेष जोड दिइने उनले उल्लेख गरे । कृषिलाई परम्परागत ढाँचाबाट बाहिर निकाल्न सक्दा कृषिमा नयाँ पुस्ताको आर्कषण बढाउन सकिने उनको भनाइ थियो ।

 

किसानलाई संगठित बनाउने माध्यम सहकारी भएको भन्दै सहकारीको माध्यमबाट कृषिको व्यावसायीकरण सम्भव भएको उनले धारणा राखे । भने, ‘छरिएको पुँजी, श्रम र जमिनलाई सहकारीको माध्यमबाट  जोड्न सकिन्छ ।’

 

दक्ष जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षाको विकासमा जोड दिइनुपर्ने र स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य संस्थाको सुधारमा ध्यान दिनुपर्नेमा उनले जोड दिए । प्रदेश सरकारले पाँच वर्षे आवधिक योजना निर्माणका लागि मंसिर ६ गतेदेखि प्रदेशका १२ वटै जिल्लामा छलफल सुरु गरेको छ ।

 

छलफल मंसिर २३ गते सकिनेछ । जिल्ला तहबाट प्राप्त सुझाव समावेश गरी तयार गरिएको अवधारणा राष्ट्रिय योजना आयोगमा सुझावका लागि पठाइन्छ । त्यहाँबाट प्राप्त सुझावपछि आवधिक योजनालाई अन्तिम रूप दिइने प्रदेश सरकारका प्रमुख सचिव डा.तीर्थ ढकालले जानकारी दिए । 

 

प्रतिक्रिया दिनुहोस्