अधिकांश विद्यालय निजी स्रोतका शिक्षककाे भरमा



रोल्पा : जिल्लाका अधिकांश विद्यालय लामो समयदेखि निजी स्रोतका शिक्षकबाट सञ्चालन भइरहेका छन् । सरकारले दरबन्दी नदिँदा शिक्षक अभावमा कतिपय विद्यालय बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन् । 

जिल्लाका एक सय एक प्राथमिक विद्यालय, ६७ निम्न माध्यमिक विद्यालय र ६४ माध्यमिक विद्यालयमा शून्य दरबन्दी छ । बाँकी एक सय ७५ विद्यालयमध्ये अधिकांशमा न्यून दरबन्दी छ । यी सबै विद्यालयमा निजी स्रोतका शिक्षकले मात्र पठनपाठन गराउँदै आएका छन् ।

हिजो केन्द्र सरकारले टाढा भएका कारण आँखा नपुर्‍याएको भनेर आरोप लाग्ने गरे पनि आज गाउँको सरकारले पनि ध्यान नदिएको गुनासो आउन थालेको छ । यहाँका चार सय सात सामुदायिक विद्यालयमध्ये दुई सय ३२ विद्यालयमा एउटा पनि शिक्षक दरबन्दी छैन ।

‘स्कुल निजी स्रोतबाट चलाएका छौं, विद्यार्थी भर्ना शुल्क र समुदायबाट रकम उठाएर तलब खान्छौं । विद्यालय सञ्चालन गर्नै कठिन छ’, जनज्योति प्रावि कोटगाउँका प्रधानाध्यापक खर्कराज घर्ती भन्छन्, ‘कहींकतैबाट केही सहयोग आएको छैन ।’

जौलीपोखरी माविका प्रधानाध्यापक केशरबहादुर केसी विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको बताउँछन् । उनले भने, ‘मासिक ८० हजार बढी रकम तलब चाहिन्छ । समुदायसँग कति माग्नु रु निःशुल्क शिक्षा भनिए पनि भर्नाका बेला विद्यार्थीसँग रकम उठाउँछौं ।

नम्ली निमाविमा पाँच शिक्षक निजी स्रोतमा पढाइरहेका छन् । ‘मासिक ४५ हजार रुपैयाँका दरले तलब सकिन्छ । उहाँहरूले तलब बढाउन भनिरहनुभएको छ’, नम्लीका प्रधानाध्यापक हरि डाँगी भन्छन्, ‘विद्यार्थीबाट भर्नाका बेला शुल्क लिन्छौं, विकास योजनाबाट बचाएर रकम जम्मा गर्छौं ।’

समुदायबाट प्रतिघर वार्षिक चार हजार रुपैयाँ संकलन गर्दै आएको जानकारी उनले दिए । उनले भने, ‘स्थानीय सरकारले विद्यायका लागि केही गरेन । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्