जनकपुरमा रेल विवाह पञ्चमीबाटै चल्ला त ?



जनकपुर : झन्डै साढे चार वर्षपछि पुनः सञ्चालन तयारीमा रहेको जयनगर–जनकपुर (कुर्था रेलसेवा उद्घाटनको चर्चा चुलिँदै गर्दा उद्घाटन कसले गर्ने भन्ने विषय अन्योलमा परेको छ । विवाह पञ्चमीदेखि सञ्चालनमा आउने भनिएको ब्रोडगेज रेल तोकिएकै समयमा सुरु हुनेमा स्थानीय अझै विश्वस्त हुन सकेका छैनन् । 

गत महिना जनकपुर–जयनगरसम्म स्थलगत निरीक्षणका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले डिसेम्बरसम्म रेल सञ्चालन भइसक्ने जानकारी दिएका थिए । प्रदेश सरकारका एक मन्त्रीले विवाह पञ्चमीमै भारतीय रेलमन्त्री र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको उपस्थितिमा सेवा सुरु हुने दाबी गरेका थिए ।

 

योगी आदित्यनाथले नै रेलसेवा उद्घाटन गर्ने चर्चा चलेपछि कांग्रेस उपसभापति एवं पूर्वगृहमन्त्री विमलेन्द्र निधिले राष्ट्रिय महत्वको परियोजना उद्घाटन छिमेकी राष्ट्रका प्रदेश मुख्यमन्त्रीलाई गर्न लगाउन नहुने टिप्पणी गरे । यसले वातावरण थप तरंगित बनायो । केन्द्र सरकारले आदित्यनाथबाट रेलसेवा उद्घाटन गराउने कुनै कार्यक्रम नरहेको स्पष्ट पारिसकेको छ । 

केन्द्रीय मन्त्री महासेठले भने रेलसेवाको उद्घाटन नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा गर्ने बताए । ‘यो राष्ट्रिय महत्वको परियोजना हो । यसको उद्घाटन दुवै देशका प्रधानमन्त्रीबाट होस् भन्ने हाम्रो चाहना र तयारी पनि छ,’ उनले भने । डिसेम्बर अन्तिम सातादेखि रेल सञ्चालनमा आउँछ,’ महासेठले भने । भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने नआउने भने टुंगो लागिसकेको छैन । भारतमा नजिकिएको लोकसभा चुनावको तयारीमा व्यस्त हुनुपर्ने भएकाले रेलसेवा उद्घाटन गर्न मोदी नआउने समाचार सूत्रहरुले बताएका छन् ।  

भारत सरकारको झन्डै १० अर्ब लगानीमा जारी रेलवे विस्तार तथा स्तरोन्नति परियोजनाअन्तर्गत प्रथम चरणमा जयनगरदेखि कुर्थासम्म ३५ किमि दूरीमा सेवा सञ्चालन हँुदैछ । दोस्रो चरणमा कुर्था–भंगहा (१७ किमि) तथा तेस्रो चरणमा भंगहा–बर्दिबास (१७ किमि) गरी कुल ६९ किमि लामो रेल विस्तार तथा स्तरोन्नति परियोजना आगामी दुई वर्षभित्र पूरा हुनेछ । आगामी ४ वर्षभित्र बर्दिबास–निजगढ रेल सेवा पनि सञ्चालनमा आउने महासेठले बताए ।

 

प्रतिक्रिया दिनुहोस्