औचित्यहीन विदेश भ्रमण कहिलेसम्म ?



देश गरिब छ । साधन स्रोत सीमित छन् । गर्नुपर्ने धेरै छन् । त्यसैले मन्त्री र कर्मचारीलाई एक मिनेट फुर्सत नहुनुपर्ने हो । विश्वका प्रायः देशले यस्तो अवस्थामा गर्ने भनेको सरकारी खर्च मितव्ययी र फजुल खर्च कटौती नै हो । यसो गर्न सके के मुलुकमा अर्बौं रुपैयाँ बचाउन सकिन्न र ?

 

अनावश्यक विदेश घुम्दा खर्च हुने हजारौं घण्टा बचाएर देशकै लागि उपयोग गर्न सकिन्न ? सिक्नै पर्ने सीप र तालिम देशमै सूचना प्रविधि प्रयोग गरेर बाँड्न सकिन्न ? कुन नेता बेलायत आयो, गयो, यो मेरो चासोको विषय होइन । मेरो चासोको विषय देश र माटोसँगै त्यहाँको अवस्था हो ।

 

यसैको सेरोफेरोमा मैले सानो बहस गर्ने अनुमति चाहें । राज्यको ओहोदामा रहेर उपचारका नाममा राज्यकै ढुकुटी सकेको, राज्यले पनि सजिलै पैसा दिएको र अन्ततः राज्य लुटेको सुनेकै छौं । यो प्रवृत्ति अझै हटेको छैन, न त सुधार नै भएको छ ।

 

पछिल्लो निर्वाचनपछि अब परिवर्तनकै लागि जनताले संघर्ष गर्नुपर्दैन कि, केही विकास अनि सुशासनको प्रयत्न होला कि भनेको तर दुईतिहाइ बहुमतको दरिलो सत्ताले पनि मन्डलेपन नै देखायो । प्रश्न सीधा छ तर सही उत्तर दिने मानिस आजसम्म कोही देखिएन । केही लेख रचना आएकै छन् । तथापि सही जबाफ कतैबाट आएन ।

 

अझ भनौं, कसैले माग्नै सकेनन् । बेलायतजस्तो समयको महत्व हुने देशमा, नेता आएभन्दा पनि तिनलाई बोलाउन, आइसकेपछि तिनका पछि लाग्न काम छाडी जानेहरू के तहका मानिस हुन्, अबचाहिँ भन्नु परेन ।

 

पहिलो कुरा त नेता किन बोलाउने, केका लागि बोलाउन आवश्यक भयो भन्ने उद्देश्य किटान भएको पाइँदैन । जसको पावर र पैसा छ उसले स्पोन्सर गर्छ, भिसा दिनेले दिन्छन् अनि नेता आउँछन्, गफ दिन्छन्, चटपटे गफ । उनका सेवक ताली बजाउँछन् तर उपलब्धि के त ? जबाफ छैन ।

 

नेपालबाट नेता बेलायत आउने क्रम घटेको छैन यो साल पनि । सन् २०१८ मा मात्र बेलायतमा २४ भन्दा बढी नेता आएका थिए । तर यिनको भ्रमणले केही नापेको देखिएन । बरु राज्यलाई व्ययभार बढ्यो ।

 

यसले के हामी परदेशीको आवाजचाहिँ के बन्दै भएको थियो त ? बेलायतमा रहेका नेपाली, जो बेलायतकै नागरिक बनिसकेका छन्, यिनीहरु हरेक समय व्यस्त छन् । यस्तो ठाउँमा दलका नेता, सामाजिक संस्थाका नेताको बिना उद्देश्यको बाक्लो भ्रमण ! यस्ता भ्रमण केका लागि, यहाँका नागरिकले सोध्नै छाडिसके । कति त भन्छन्–कागलाई बेल पाकेर के हुन्छ ? यसको मतलब नेताहरूको बेलायत भ्रमण अपराध हो भन्ने पनि होइन ।

 

यहाँ चासो भनेको देशका लागि सहयोग गर्ने भनिएका संस्थाको विवेकहीनता हो । हजारौं सामाजिक संस्थाले गतिलो काम गरेका समेत छैनन्, यो अचम्मको कुरा छ । मानिसहरू भएको बस्तीमा मानिस आउनु सामान्य कुरा हो तर बिनाअर्थ स्पोन्सर गरेर भ्रम र छलका लागि गरिने विदेश सयर अनुचित हो । नेपाली दूतावासको लाचारीले पनि छक्क पर्ने अवस्था निम्तिएको छ । सरकारको चासो पर सारेर, पप अनि रेस्टुरेन्ट उद्घाटन गरेर देश बन्छ ? प्रश्न गम्भीर छ ।

 

देशको उच्च ओहोदामा पुगेका माधव नेपाल, शेरबहादुर देउवालगायत थुप्रै नेताले बेलायत भ्रमण गर्दा त्यसको परिणामचाहिँ शून्य छ । यी भ्रमण केका लागि भनी प्रश्न उठाउनेलाई त ‘हाम्रो कुरा हो, तँलाई केको चासो, चुप लाग्’ पनि भने, भनिरहेका छन् । हामीलाई बोल्न जरुरी पनि छैन, जेसुकै गरून् । तर राज्यको सम्पत्ति सकाएर मोज गरेर देश र जनतामा व्ययभार थप्ने काम हामीलाई स्वीकार्य छैन । बहस नै यही हो ।

 

मिडियाबाजी गर्दा मजा त होला । तर मिडियाले पनि औचित्य पुष्टि नहुने भ्रमणको साख के भनेर प्रश्न गर्नुपर्ने हैन र ? बेलायतमा रहेका नेपालीका धेरै समस्या छन् । यी समस्या राजदूतावास कार्यालय रहेर पनि समाधान भएका छैनन् । वर्षौं यत्तिकै बित्यो । सामाजिक संस्थामा चरम बेथिति छ । एनआरएनएसमेत गतिशील बन्न सकेन । किन यस्तो ? प्रश्न नउठेको पनि होइन तर निकास अझै निस्केको छैन ।

 

बेलायतमा बसेर पनि साँच्चिकै नेपालको हित गर्ने हो भने यी कुरामा ध्यान दिन आवश्यक छ : यहाँ बसेका नेपाली के साँच्चै नेपाल बनाउनै बसेका हुन् त ? उत्तर खोज्न गोलमेच सम्मेलन गरौं । नयाँ विकल्पका साथ खल्तीका संस्था खारेज गरौं । नेपालसँग सरोकार भएका विषयमा राजनीतिक उच्च तहमा बेलायत सरकारसँग बहस गरौं । धारे हात, गाली, ताली, माला बन्द गरेर नयाँ मोडल रोजौं । नीति बनाएर संस्था सञ्चालन गरौं ।

 

जातीय वा गैरजातीय संस्थालाई व्यावसायिक बनाऊँ । कसरी कोबाट कुन काम हुने हो, भागबन्डा गरौं । तन, मन र धनको लगानी खोजौं । सरकारसँग मिलौं, निजीसँग लगानी बढाऊँ र सही लगानी गरौं । हरेक नेपालीले नेपालका लागि बचत गरौं । सायद करोड रकम हरेर दिन देशका लागि जम्मा हुनेछ । अन्त्यमा ईशा दिदीलाई सम्झन मन छ । उनी कुनै नेता, अभिनेता होइनन् । न त अर्बपतिकै छोरी हुन् ।

 

केबल काम गरौं भन्ने सोचकी चेली हुन् । यिनको जस्तै मन भएकालाई संगठित गरेर उडान भरौं । स्वतः पूरा देशका लागि एक इँटा बन्छ यूके नेपाली मन । नत्र कोदोको पिठो जुन भाँडोमा पकाएर जुन थालमा पस्केर खाए पनि कालै त हो नि ।

प्रतिक्रिया दिनुहोस्