कांग्रेसद्धारा गृहमन्त्री थापाको राजीनामा माग



काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शान्ति सुरक्षाको प्रत्याभुति दिन नसकेको भन्दै गृहमन्त्रीको राजीनामा मागेको छ । 

 

मुलुकभर श्रृंखलावद्ध महिला हिंसा र हत्याका घटना बढ्दै गईरहँदा घटनाको अनुसन्धान गर्न पनि सरकार असफल भएको भन्दै कांग्रेसले गृहमन्त्रीको राजीनामा माग गरेको हो ।

 

कांग्रेसले निर्मला पन्तको हत्याको प्रमाण नष्ट गर्न राज्य शक्तिको दुरुपयोग भईरहेको  तथा अध्ययन प्रतिवेदन सार्वजनिक हुन नसकेको प्रति पनि गम्भीर आपत्ती जनाएको छ । 

 

प्रतिनिधिसभाको बुधबारको बैठकमा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषाल गौतमले मुलुकभरको हत्या हिंसाको घटना रोक्न नसक्ने गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरिन् ।

 

‘यो सरकारले हत्या हिंसाका श्रृंखलालाई रोक्न सकेको छैन । म निवेदन गर्न चाहन्छु । यति धेरै हत्या हिंसाका घटनाहरु र महिला अस्मिता माथि लागेका प्रश्न चिन्हको जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिएर आफ्नो नैतिक उदारता देखाउनु जरुरी भईसकेको छ’ भुषालको भनाई छ । 

 

एसिड प्रहार गरी महिलामाथि हिंसा गर्ने घटना बढ्दै गएको भन्दै उनले दैनिक हत्या हिंसाका घटना हुँदा राज्य मौन बसेको र कुनै पनि अपराधीलाई समातेर कारवाहीको दायरामा ल्याउन नसकेकोप्रति गम्भीर आपत्ती जनाइन् ।

प्रतिक्रिया दिनुहोस्