ए डिभिजन लिगः मनाङ र सरस्वती विजयी



काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत मंगलबारको खेलमा मनाङ मर्स्याङ्दी र सरस्वती युवा क्लब विजयी भएका छन् ।

लिगमा मनाङ मर्स्याङ्दीको अपराजित यात्रा कायमै छ । आज भएको खेलमा मनाङले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराएको हो । यो जीतसँगै  मनाङ पुनः लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

सातदोबाटोको एन्फा मैदानमा भएको खेलमा मनाङले एपीएफलाई दुई–एकले हराएको हो । खेलको १९ औं मिनेटमा विदेशी खेलाडी एडीलाजे डोमिडीले गोल गर्दै मनाङले अग्रता बनाएको थियो ।

२७ औं मिनेटमा एपीएफले पेनाल्टीमार्फत खेल बराबरी गरेको थियो । तर ४४ औँ मिनेटमा मनाङले अञ्जन विष्टको गोलमा फेरि खेलमा अग्रता बनायो ।

लगातार चार खेल जितेको मनाङको १२ अंक भएको छ । 

यसअघि, मंगलबारै भएको अर्को खेलमा सरस्वती युवा क्लबले ब्रिगेड ब्वाइजलाई २–१ ले पराजित गर्‍यो ।

खेलमा सरस्वतीले खेलको तेस्रो मिनेटमा नै अग्रता लिएको थियो । कप्तान दीपेश श्रेष्ठको पासमा विनोद केसीले गोल गर्दै अग्रता दिलाएका थिए । तर सरस्वतीको त्यो अग्रता लामो समय टिकेन । सातौँ मिनेटमा नै ब्रिगेड ब्वाइजका काजिमले दिएको पासलाई अब्दुल करिमले गोल गर्दै बराबरीमा पुर्‍याए।

५२ औँ मिनेटमा सरस्वतीले फेरि अग्रता बनायो । भिक्टरको क्रसलाई फ्रान्सिसले हेडरमार्फत गोल गरे । त्यसपछि ब्रिगेड ब्वाइज खेलमा फर्कन सकेन र पराजित भयो ।

जितसँगै सरस्वतीले ४ खेलबाट ६ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्