चलचित्र ‘शान्ति’ आगामी शुक्रबारबाट रिलिज हुने



काठमाडौं : सामाजिक पारिवारिक कथाबस्तु रहेको चलचित्र ‘शान्ति’ आगामी शुक्रबारबाट रिलिज हुने भएको छ । चलचित्र युनिटले मंगलबार राजधानीमा पत्रकारमाझ शुक्रबारबाट रिलिज हुने जानकारी दिएको हो ।

 

फाल्गुनन्द लिङ्देन फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रमा दिनेश लिङ्देनको लेखन तथा निर्देशन छ । निर्देशक लिङ्देनले चलचित्रले वैदेशिक रोजगारमा रहेका नेपालीहरुको यथार्थता, नारीको संवेदनशिलता जस्ता विषयलाई समेटेको बताए ।

 

‘चलचित्र सरल र शिष्ट शैलीमा निर्माण गरेका छौं । समाजको कथालाई हामीले चलचित्रमार्फत देखाएका छौं,’निर्देशक लिङ्देनले भने,‘चलचित्र एक वर्ष अघि नै निर्माण गरिएको हो । तर केही प्राविधिक कारणले यसपटक रिलिजको माहौल बन्यो ।’

 

चलचित्रका नवनायक सन्जिब थेवेले पहिलो पटक चलचित्रमा काम गर्दा केही गाह्रो भएको अनुभव सुनाए । त्यस्तै नवनायिका सुप्रिया श्रेष्ठले चलचित्रको कथाबस्तुले आफूलाई लोभ्याएको बताईन् । संगीतकार विकास चौधरीले आफूले पहिलोपटक फिल्मी पाश्र्वगायन ‘शान्ति’बाट शुरु गरेको खुलाए । यो चलचित्रका दुई गीतमा विकासकै स्वर छ ।

 

चलचित्रमा सुशिल क्षेत्री, निशा पोमु, सुप्रिया श्रेष्ठ, सन्जिब थेबे, सुदिता लिङदेन, बालदिप राई, शर्मिला शर्मा, खुस्बु चेम्जोङ, अजय खडका, प्रदिप योङहाङ, महेन्द्रकुमार राई, सुमित्रा अधिकारीको अभिनय छ ।

 

कविता राई लिङ्देन प्रस्तुतकर्ता, बसन्त थेबे कार्यकारी निर्माता र शान्ता बखिम थेवे निर्माता रहेको फिल्ममा विकास चौधरीको संगीत, जनक कार्कीको नृत्य, राजु किराँतीको द्वन्द्व, रोशन वान्तवा राईको पाश्र्व संगीत, ज्ञानु राईको छायांकन र मेगबहादुर मगरको सम्पादन छ ।  पूर्व ‘मिस लिम्बु’ निशा पोमु र सन्जिब तथा सुप्रियाको यो ‘डेब्यु’ फिल्म हो । चलचित्र सिन्धुली, काभ्रे, नुवाकोटमा छायांकन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्