श्रम स्वीकृतिका लागि टोकन प्रणाली



काठमाडौं : वैदेशिक रोजगार कार्यालय ताहचलले श्रम स्वीकृति प्रक्रियालाई व्यवस्थित बनाउन टोकन प्रणाली शुरु गर्ने भएको छ। यही मङ्सिर १६ गतेदेखि टोकन प्रणालीअनुसार नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र कागजात प्रमाणीकरण गरिने कार्यालयका प्रमुख युवराज खतिवडाले जानकारी दिए ।

 

रोजगार कार्यालयमा व्यवस्थित प्रणाली नहुँदा विदेश जाने युवाले निकै सास्ती खेप्दै आएका छन्। श्रम स्वीकृति लिनकै लागि अघिल्लो दिनदेखि लाइनमा बस्नुपर्ने बाध्यता छ । वैदेशिक रोजगार विभागको एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस) बाट प्राप्त निवेदनमा उल्लेख भएको टोकन नम्बरका आधरमा तोकिएको मिति र समयमा मात्र सेवा प्राप्त गर्न सकिने उनले बताए ।

 

दैनिक ९०० लाई टोकन वितरण गर्ने गरी सफ्टवेयरको विकास गरिएको छ। प्रमुख खतिवडाले टोकन प्राप्त गर्ने युवालाई सोही दिन सेवा प्रदान गरिने बताए। उनले सफ्टवेयरले दिएको मिति र समयभित्रै सेवा लिन कार्यालयमा आउनसमेत आग्रह गरे ।

 

प्रमुख खतिवडाले भने, 'सेवाग्राहीले टोकन लिएको दिनमै सेवा लिन आउनुभयो भने सोही दिन हामी ९०० लाई नै सेवा प्रदान गर्न सक्छौँ। यसबाट सेवाग्राही भोक, निन्द्रा नभनी लाइनमा बस्न आउनु पर्दैन । श्रम स्वीकृति प्रक्रियालाई व्यवस्थित बनाउन सक्छौँ ।' कार्यालयबाट सरकारले रोजगारीका लागि खुला गरेका ११० मुलुकका लागि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति, पुनः श्रम स्वीकृति प्रदान हुँदै आएको छ । अहिले दैनिक एक हजारभन्दा बढीले नयाँ श्रम स्वीकृति, पुनःश्रम स्वीकृति लिने गरेका कार्यालयले जनाएको छ ।

 

कार्यालयले बिहान ८ देखि साँझ ७ बजेसम्म सेवा प्रदान गर्दै आएको छ। शनिबारका दिनसमेत श्रम स्वीकृति प्रदान गरिँदै आइएको प्रमुख खतिवडाले जानकारी दिए। चाडपर्व सकिएसँगै वैदेशिक रोजगारीका क्रममा विदेशिने युवाको चाप ह्वात्तै बढेको छ ।

प्रतिक्रिया दिनुहोस्