फेरि अनशन बस्न बाध्य पारिँदै छ : डा. गाेविन्द केसी



काठमाडाैं : चिकित्सा शिक्षा क्षेत्रको बेथिति १५औं पटक अनसन बसिसकेका डा गोविन्द केसीले १६ अाैं अनसन बस्ने चेतावनी दिएका छन्।

 

बुधबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै डा‍ केसीले आफूसँग भएका सम्झौताको कार्यान्वन गर्न सरकार उदासीन देखिएको आरोप लगाएका छन्। 'यदि संसदको यही अधिवेशनबाट चिकित्सा शिक्षा ऐन निर्माण गर्नेदेखि लिएर सबै सम्झौता कार्यन्वन नभए नागरिकका हैसियतमा सुशासनका लागि कुशासन गर्नेहरुलाई जवाफदेही बनाउनेलगायत माग राखी  १६ औँ सत्याग्रह सुरु गर्न बाध्य हुनेछु भन्ने कुरा जानकारी गराउन चाहान्छु', विज्ञप्तिमा भनिएको छ।

 

डा केसीले देशमा अहिले कुशासनको राज रहेको बताएका छन्। 'अपराध र बलात्कारका घटना दिनमा दुईगुना, रातमा चारगुना बढिरहेका छन्', उनले भनेका छन्, 'मानवताविरोधी अपराधमा संलग्न व्यक्तिहरुले विधिको शासनलाई प्रभावित पाररिरहेका छन्। जिम्मेवार नागरिकको हैसियतले यस्ता घटनाहरुमा सरकारको रवैयाप्रति मुकदर्शक रहन सकिँदैन।'

 

डा केसीले आफूसँग भएका सम्झौता अनुसारको चिकित्सा शिक्षा विधेयक तुहाउन तथा अलमल्याइ राख्ने प्रपञ्चमा संसद लागेको गम्भीर आशंका पैदा भएको बताएका छन्। 'संसदबाट समितिमा र समितिबाट पुन उपसमितिमा पठाएर यतिका दिनसम्म ऐनबारे गम्भीर छलफल नहुनुले पनि यसलाइ थप पुष्टि गरेको छ', विज्ञप्तिमा भनिएको छ।

 

डा केसीले २७ दिन लामो सत्याग्रह टुंग्याउने क्रममा प्रधानमन्त्री खड्गप्रसाद ओलीको निर्देशनमा र नेकपाका उपनेता सुवास नेम्वाङ र महासचिव विष्णु पौडेलको उपस्थितिमा हाम्रा सम्पूर्ण सुझाव समेटेर विधेयक पारित गर्ने सम्झौता भएको स्मरण पनि गराएका छन्।

प्रतिक्रिया दिनुहोस्