हात्ती मार्नुपर्ने माग सहित चितवनको माडी-ठोरी सडकखण्ड बन्द



चितवन : हात्तीले मान्छे मारेको विरोधमा चितवन माडीका बासिन्दाले बिहीबार बिहानैदेखि माडी-ठोरी सडक बन्द गराएका छन्।  चितवन राष्ट्रिय निकुञ्जको हात्तीले हिजो (बुधबार) माडी-९ का दुई महिलालाई मारेपछि स्थानीय बासिन्दा विरोधमा उत्रिएका हुन्।

 

बुधबार निकुञ्ज नजिकैको खेतमा घाँस काट्न गएका बेला जंगली हात्तीले आक्रमण गर्दा माडी-९ का ६२ वर्षीया कृष्णकली पौडेल र ३२ वर्षीया सुशीला भण्डारीको मृत्यु भएको थियो।

 

निकुञ्जका जंगली जनावरले पटक-पटक मान्छेलाई आक्रमण गरेकाले सरकारले अब यस्ता घटना नदोहोरिने ग्यारेन्टी नगरेसम्म आन्दोलन जारी रहने स्थानीय बासिन्दाले बताएका छन्। कि हात्ती मार्नुपर्ने कि निकुञ्जले नियन्त्रणमा राख्नुपर्ने स्थानीय बासिन्दाको माग छ।

 

पीडितको माग सम्बोधन गरी यातायात खुलाउने विषयमा अहिले स्थानीय प्रशासन, प्रहरी, माडी नगरपालिकाका मेयर ठाकुर दाहाल र विरोधमा उत्रिएका स्थानीयबीच वार्ता गर्ने तयारी भइरहेको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

 

बन्दका कारण माडी-ठोरी सडकमा बिहानैदेखि यातायात ठप्प भएको छ। एम्बुलेन्स लगायतका अति आवश्यक सवारीसाधनलाई भने चल्न दिइएको छ। 

 

प्रतिक्रिया दिनुहोस्