फेसबुकले जोडेको ‘चित्रकला कार्यशाला’ बिस्तार



काठमाडौ: काठमाडौँका चित्रकार दिवेश प्रधान, राकेशचन्द्र श्रेष्ठ र दीपेन्द्रमान बनेपालीबीच नयाँ नयाँ ठाउँमा पुगेर चित्र बनाउने विषयमा छलफल भयो । एकै ठाउँमा बसेर चित्र बनाउनुभन्दा विभिन्न क्षेत्रमा पुगेर चित्र बनाउँदा चित्रमा निखारता अउनेमा उनीहरुको मत मिल्यो । परिणामस्वरुप चित्रकारहरु एउटा फेसबुक समूहमा जोडिए ।

 

त्यही समूहले व्यवस्थित र नियमित कार्यशालाको जरुरी ठानेर १२ हप्ताअघि काठमाडौँको हनुमानढोकाबाट स्वतःफूर्त अभियानका रुपमा ‘शनिबासरीय स्थलगत चित्रकला कार्यशाला’ थालनी गरेको हो । यसअघि हनुमानढोका, ललितपुरको दरबार स्क्वायर, भक्तपुर, ठिमी, चाँगुनारायण, टेकु, खोकना, गुहेश्वरी, चोभारलगायत क्षेत्रमा पुगेर काठमाडौँका कलाकारले कार्यशाला सम्पन्न गरिसकेका छन् । शनिबार चापागाउँ, साँखु र बुङ्मतीका लागि फेसबुक समूहमार्फत मतदान खुला गरिएको छ ।

 

उक्त कार्यशालाबाट प्रोत्साहित विभिन्न जिल्लाका कलाकारले समेत त्यस्तै अभियान सञ्चालनको योजना अघि बढाएका छन् । रुपन्देहीका कलाकारले त चित्रकला कार्यशाला नै थालिसकेको चित्रकार सुमित्रा राना बताउँछिन् ।

 

मोरङका कलाकार सरोजा खड्गीलाई पनि काठमाडौँमा भएको स्थलगत चित्रकला कार्यशालाले मन लोभ्यायो । त्यही नाममा स्थानीयवासी कलाकार मिलेर नियमित चित्रकला कार्यशालामा शुरु गरिएको छ । अभियानलाई दिगो रूप दिने प्रयासमा लागेका काठमाडौँका चित्रकार जिल्ला जिल्लामा पनि अभियान चलाउने प्रतिबद्धता आउँदा उत्साहित भएका छन् ।  

प्रतिक्रिया दिनुहोस्