
काठमाडौं : निर्यातको तुलनामा आयातको दर उच्च भएपछि चालु आर्थिक वर्षमा बजेटभन्दा व्यापार घाटाको आकार ठूलो हुने देखिएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको चार महिनामा व्यापार घाटा चार खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ ।
गत वर्ष सोही अवधिको तुलनामा व्यापार घाटा ४० प्रतिशतले बढेको छ । यही हिसाबमा आयात–निर्यातको अनुपात कायम रहने हो भने यो वर्षको बजेटभन्दा व्यापार घाटा ठूलो हुने देखिएको हो । मुलुकको चालु आवको बजेट १३ खर्ब १५ अर्बको रहेको छ ।
केन्द्रले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७५/७६ को पहिलो चार महिनाको तथ्यांक अनुसार मुलुकको व्यापार घाटा चार खर्ब ५४ अर्ब ४७ करोड नाघेको हो । यो गत आवको सोही अवधिको तुलनामा ४०.३ प्रतिशतले धेरै भएको केन्द्रले जनाएको छ ।
तथ्यांकअनुसार चार महिनामा मुलुकको कुल वैदेशिक व्यापार ३६.१ प्रतिशतले बढेर पाँच खर्ब १३ अर्ब पुगेको छ । कुल व्यापारमा निकासीको योगदान ५.७ र आयातको ९४.३ प्रतिशत छ ।
यस अवधिमा मुलुकको कुल निर्यात १०.७ प्रतिशतले बढेर २९ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । आयात ३८.१ प्रतिशतले बढेर चार खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँ पुगेको हो । आजको नागरिक दैनिकमा समाचार छ ।