समाधान होला त क्यान विवाद ? मनिटरिङ कमिटीको बैठक बस्दै



काठमाडौं : नेपाली क्रिकेटको विकासमा अवरोध बनी देखा परेको नेपाल क्रिकेट संघ (क्यान) सम्बन्धी विवाद समाधान गर्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले गठन गरेको अनुगमन समितिको बैठक यही मंसिर २२ गते बस्ने भएको छ । क्यानमा विगत तीन वर्षदेखि विवाद छ । यही कारण क्यानलाई आईसिसीले निलम्बन गरेको छ ।

 

आइसिसी सल्लाहकार समितिले बनाएको विधानअनुसार क्रिकेटसम्बन्धी विवाद समाधान गर्न अनुगमन समिति (मनिटरिङ कमिटी) गठन भएको थियो । उक्त कमिटीको काठमाडौंमा बस्न लागेको बैठकमा आइससिसीका प्रतिनिधिसहित नेपालबाट राष्ट्रिय खेलकुद परिषद् (राखेप) र निलम्बित क्यानका प्रतिनिधि सहभागी हुने निलम्बित क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए । बैठकमा क्यानको जिल्ला निर्वाचनका विषयमा छलफल हुने तय भएको छ ।

 

यसअघि गत साउन अन्तिम साता काठमाडौंमा बसेको मनिटरिङ कमिटी बैठकले जिल्ला निर्वाचनको विषयमा कागजात अध्ययन गर्ने र प्रक्रिया पुगेका निर्वाचनलाई मान्यता दिने सहमति गरेको थियो । सो बैठकमा अदालतमा दायर मुद्दा फिर्ता लिन र क्यानको तदर्थ समिति भंग गर्न क्रिकेटका सरोकारवाला पक्षलाई आग्रह गरिएको थियो । तर निलम्बित क्यानले विवाद समाधानको मार्गचित्र नबनेसम्म मुद्दा फिर्ता लिन नसकिने अडान लिएको छ । विवाद समाधानका लागि मुद्दा फिर्ताको सैद्धान्तिक सहमति भने क्यानको बोर्डले पास गरिसकेको छ ।

 

२०७३ वैशाखमा क्यान निलम्बनमा परेपछि नेपाली खेलाडीले अभिभावकबिनै ठूला प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन् । क्यानको विवाद अब पनि समाधान नभए आइसिसीले यसको सदस्यता नै खारेज गर्न सक्ने सम्भावना पनि छ ।

रासस

प्रतिक्रिया दिनुहोस्