पढ्ने रहर पूरा गर्न धानका सिला खोज्दै बालबालिका



बर्दिया : गुलरिया नगरपालिका–१२ दुधालालपुरका दिदीबहिनी १२ वर्षीया सावा खाँ र १० वर्षीया सवनम खाँलाई धान काटेर उठाइसकेको खेतमा जानु हिजोआज दिनचर्याजस्तै छ । उनीहरु एकाबिहानै खेतमा धानको सिला खोज्न पुग्छन् ।

उनीहरले धान उठाइसकेको खेतमा छुटेका बाला संकलन गर्ने र यसरी जम्मा भएको धान बेची कापी कलम किन्ने गरेका छन् । उनीहरुका छिमेकी बालबालिका पनि दिउँसो विद्यालय जाने र साँझ बिहान खेतमा गई सिला खोज्ने गर्छन् । उनीहरुले एकपटकमा आधा किलोदेखि एक किलोसम्म धान जम्मा गर्छन् ।

 

लेखपढ गर्न आमाले पैसा दिन नसक्ने भएपछि धानको सिला जम्मा गर्न जाने गरेको सावाले बताइन् । गरिबीका कारण उनकी आमाले दैनिक मजदुरी गरे पनि साँझबिहान दुई छाक हातमुख जोड्न हम्मे पर्छ । उनकी २७ वर्षीया आमा सोनम बाबुले सम्बन्धविच्छेद गरी घरबाट निकालिदिएपछि माइतीमा बस्दै आएकी छन् । 

 

भारतीय नागरिकसँग विवाह भएका कारण कानुनी लडाइँ गर्न पनि समस्या भएको छ । माइतीले बस्ने सहारा दिएपछि मजदुरी गरेरै भए पनि दुई छोरीको पेटसम्म भर्न जसोतसो पुगेको सोनमले बताइन् । उनले भनिन्, ‘स्वास्थ्यले साथ दिँदासम्म त काम गरे खान–लाउनलाई पुग्छ तर बिरामी भइयो भने भोकभोकै बस्नुपर्छ । उपचार गर्न ऋण नै खोज्नुपर्छ । यस अवस्थामा कसरी छोरीहरुलाई पढाउनु ? तैपनि उनीहरुले धानको सिला जम्मा गरी बिक्री गरेर कापी कलमका लागि थोरै भए पनि पैसा जोहो गर्छन् ।’

 

सबनम र सावा घरनजिकैको मदरसामा ४ र ५ कक्षामा पढ्दै आएका छन् । माइतीमा पनि आर्थिक अवस्था कमजोर भएका कारण उनीहरुले बस्नलाई सहाराबाहेक अरू सहयोग पाउन सकेका छैनन् । 

 

प्रतिक्रिया दिनुहोस्