अब एउटा संकायबाट पास गरेको विषय अर्को संकायमा पढ्नु पर्दैन



काठमाडौं : त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले अब एउटै विषय अन्य संकायको पाठ्यक्रममा भए दोहोर्याएर पढ्न नपर्ने भएको छ । यसका लागि त्रिविले ‘क्रेडिट ट्रान्सर्फर पोलिसी’ ल्याउने तयारी थालेको हो ।

 

क्रेडिट ट्रन्सर्फरमार्फ्त अब एउटा संकायबाट पास गरेको विषयलाई विद्यार्थीले पुनः अर्को संकायको पाठ्यक्रममा भए पढ्न पर्दैन । यो व्यवस्था विदेशबाट पढेर आएको विषयमासमेत लागु हुने त्रिविले जनाएको छ ।

त्रिवि योजना निर्देशनालयका कार्यकारी निर्देशक प्रा.डा. ऋदिशकुमार पोखरेलले क्रेडिट ट्रान्सर्फर अन्तर्गत एउटै संकायसँग मिल्दो विषय अर्को संकायमा दोहोरिने भए विद्यार्थीले सो विषय पढ्न नपर्ने गरी नीति ल्याउन लागिएको जानकारी दिए । “एउटै विषय विभिन्न संकायमा रहने भएकाले दोहोर्याएर पढ्नुपर्ने अवस्था छ । यस्तो व्यववस्था हटाउन के्रडिट ट्रान्सर्फरको व्यवस्था ल्याउन लागिएको हो,” उनले भने । 

के्रडिट ट्रान्सर्फरको लागि विद्यार्थीले मार्कसिटसहित निवेदन दिनुपर्नेछ । पढिसकेको विषयमा पाएको अंक र प्रतिशतलाई नयाँ मार्कसिटमा जोडेर गणना हुनेछ । सोही गणनाको आधारमा प्रमाणपत्र जारी गरिने उनले जानकारी दिए ।

त्रिविले यसका लागि समिति गठन गरेर सम्बन्धित विषयविज्ञको सल्लाह लिने तयारी गरेको छ । 

प्रतिक्रिया दिनुहोस्