घाटा लागेको भन्दै मूल्य बढाउने तर्खरमा आयल निगम



काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा निरन्तर पेट्रोलियम पदार्थको मूल्य घटिरहँदा नेपाल आयल निगमले मूल्य समायोजन गर्नु त कता हो कता, उल्टै घाटामा रहेको कुरा दोहो¥याउँदै आएको छ । अहिले दैनिक दुई करोड रुपैयाँ घाटा परिरहेको निगमको दाबी छ । 

आयल निगम मुलुकमा पेट्रोलियम पदार्थ बिक्रीवितरणको एकाधिकारप्राप्त संस्था हो । उसले डिजेल, पेट्रोल, मटितेल, हवाईइन्धन, एलपिजी ग्यास इन्डियन आयल कर्पोरेसनसँग किनेर मुलुकमा बिक्रीवितरण गर्दै आएको छ । खाना पकाउने एलपिजी ग्यासमा सबैभन्दा बढी घाटा रहेको निगमको दाबी छ ।

 

चाडपर्वका बेला सर्वसाधारणलाई मारमा नपार्न भन्दै प्रतिनिधिसभाका उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले मूल्य समायोजन नगर्न निर्देशन दिँदा घाटा चुलिएको निगमका अधिकारीको दाबी छ । निगमले असोज २ गतेपछि इन्धनको मूल्य समायोजन नभएको जनाएको छ । त्यसअघि निगमले मूल्य समायोजन भन्दै हरेक साताजस्तो पेट्रोलियम पदार्थको भाउ बढाएको थियो ।

पछिल्लो समय समायोजन गर्न नपाउँदा करोडौं रुपैयाँको घाटा भएको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए । उनले भने, ‘नोभेम्बर ३० सम्म हामीलाई दैनिक २ करोड रुपैयाँभन्दा बढी घाटा भएको छ । अन्तर्राष्ट्रिय रुपमा बढेको मूल्यअनुसारको बजार भाउ राख्न नपाएकाले पछिल्ला दुई महिनामा झन्डै ३ अर्बजस्तो नोक्सान भएको छ । यस आर्थिक वर्षको साउन महिनादेखि अहिलेसम्म निगमलाई करिब ४ अर्बको नोक्सान भएको छ ।’

निगमका अधिकारीले यस्तो दाबी गरिरहँदा उपभोक्ता भने अन्तर्राष्ट्रिय बजारमा भाउ बढेका बेला हप्तैपिच्छे बढाउने, घटेको बेला किन नघटाउने भन्दै आक्रोशित छन् । निगमका अधिकारीहरुले सरकारले लगाएको करका कारण पनि पेट्रोलियम पदार्थ महँगो भएको तर्क पनि गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्