घट्दैछ एचआइभी संक्रमण दर



हेटौंडा : प्रदेश नं. ३ मा एक वर्षकै अवधिमा ४ सय ४५ जना एचआइभी एड्स संक्रमित फेला परेका छन् । विश्व एड्स दिवसको पूर्वसन्ध्यामा प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार उक्त तथ्यांक सार्वजनिक गरेको हो । 

 

निर्देशनालयका जनस्वास्थ्य प्रशासक डा. राजेन्द्र गिरीले सन् २०१७ मा प्रदेश नं. ३ मा पुरुष २ सय ४१, महिला १ सय ८६ र तेस्रोलिंगी १८ जना संक्र्रमित पहिचान भएको जानकारी दिए । अन्य प्रदेशमा भन्दा ३ नं. मा एआरटी सेवन गर्ने संक्रमित बढी छन् । यस प्रदेशमा चार हजार ५ सय १२ जनाले नियमित एआरटी सेवन गरिरहेका छन् ।

 

सन् २०१० को तुलनामा २०१७ मा ६१ प्रतिशतले संक्र्रमण घटेको छ, ६३ प्रतिशत बच्चाहरुमा हुने संक्रमणमा पनि कमी आएको छ’, जनस्वास्थ्य प्रशासक डा. गिरीले भने, ‘एड्सका कारण मृत्यु हुने संख््या पनि २३ प्रतिशतले कमी आएको छ, यो हाम्रा लागि उपलब्धि हो ।’ 

 

स्वास्थ्य निर्देशक डा. यदुचन्द्र घिमिरेले संक्रमण अझै घटाउँदै लैजानुका साथै महामारीलाई सन् २०३० सम्म अन्त्य गर्ने लक्ष्य रहेको बताउनुभयो । ‘नेपाल दिगो विकास लक्ष्यअनुरुप एचआइभी एड्स संक्र्रमण न्यूनीकरणका सबै उपाय अपनाइरहेको छ’, उनले भने, ‘विश्वमा एचआइभी संक्रमणको दर बढ्दै गए पनि नेपालमा बर्सेनि कम हुँदै आएको छ ।’

 

‘एचआइभी जाँच गराऔं, आफ्नो अवस्था थाहा पाऔं’ भन्ने मूल नाराका साथ यस वर्ष आज डिसेम्बर १ मा विश्व एड्स दिवस मनाइँदैछ । 

रासस

प्रतिक्रिया दिनुहोस्