पाल्पा–बुटवल सडक १७ देखि १९ गतेसम्म दिउँसोमा बन्द



पाल्पा : पाल्पा–बुटवल सडक स्तरोन्नतिका लागि मंसिर १७ गतेदेखि १९ गतेसम्म बन्द हुने भएको छ । 

 

बुटवल–पाल्पा सडकखण्डअन्तर्गत तिनाउ गाउँपालिकाको दोभानको चिडियाखोलादेखि भुतखोला सडकखण्डमा यातायात सञ्चालन बन्द हुने भएको हो । बिहान १० बजेदेखि ४ बजेसम्म केराबारीदेखि चिडियाखोलासम्म अत्यावश्यकीय बाहेक अन्य सवारीसाधन पूर्णरूपमा बन्द हुने डिभिजन सडक कार्यालयका सूचना अधिकारी पवित्रमणि आचार्यले बताए । 

 

बिरामी बोकेका एम्बुलेन्सबाहेक अन्य सवारीसाधन छ घण्टा नै रोकिनेछन् । सडकमा खसेको ढुंगा फुटाई हटाउनुपर्ने, पहिरो हटाउनुपर्ने तथा सडक मर्मत सम्भार गनुपर्ने हुँदा सडक बन्द गर्न बाध्य भएको अधिकारी आचार्यले बताए । 

चालक दोभानको चिडियाखोलादेखि भुतखोला क्षेत्रको सडकमा बाह्रै महिना जोखिममा सवारीसाधन चलाउन बाध्य छन् । स्थानीय बासिन्दाका अनुसार दोभानको सिद्धबाबा क्षेत्रमा हिउँद तथा वर्षायाममा पहिरो खस्दै आएको छ । ढुंगासहितको पहिरोले सवारी दुर्घटना रोकिएको छैन । यस क्षेत्रमा पहिरोले मानवीय क्षति हुँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्