ट्रम्पको दबाबमा नाफ्टा खारेज, नयाँ सम्झौतामा हस्ताक्षर



ब्युनस आयर्स : संयुक्तराज्य अमेरिका, मेक्सिको र क्यानाडाका नेताहरुले उत्तर अमेरिकी व्यापार सम्झौता (नाफ्टा) लाई प्रतिस्थापन गर्दै नयाँ व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् ।

 

नाफ्टाले अमेरिकी रोजगारी र व्यापारमा असर परेको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका त्यसबाट अलग हुने चेतावनी दिएका थिए । त्यसपछि नयाँ सम्झौता गरिएको हो । 

 

युएसएमसिए नाम दिइएको नयाँ सम्झौतामा अमेरिकाका तर्फबाट राष्ट्रपति ट्रम्प, मेक्सिकोका तर्फबाट राष्ट्रपति एनरिक पेना निटो र क्यानाडाका तर्फबाट प्रधानमन्त्री जस्टिन ट्रुडोले हस्ताक्षर गरेको एजेन्सीहरुले जनाएका छन् । 

 

तीनैजना नेताहरु हाल औद्योगिक राष्ट्रहरुको समूह जी–२० को बैठकका लागि अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा छन् । 

 

सम्झौतामा हस्ताक्षर गरेपछि आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले पछिल्लो सम्झौता नमुनाका रुपमा रहेको र यसले आगामी दिनमा व्यापारको परिदृश्यमै परिवर्तन ल्याउने बताए ।

 

ट्रम्पले नयाँ सम्झौताका क्रममा नेताहरुबीच आरोपप्रत्यारोप भए पनि राम्रो नतिजा आएकोमा प्रसन्नता व्यक्त गरे । उनले यस सम्झौताबाट अमेरिकी कामदारलाई फाइदा पुग्ने र बौद्धिक सम्पत्तिको संरक्षणमा ठोस योगदान हुने विश्वास व्यक्त गरे ।

 

सम्झौताले मुख्यगरी सवारीसाधनका क्षेत्रमा कार्यरत मजदुर एवं कामदारको रोजगारी सुरक्षामा मद्दत पुग्ने बताइएको छ । 

 

क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रुडोले नयाँ सम्झौताले पछिल्ला दिनहरुमा बढ्दै गएका गम्भीर आर्थिक अनिश्चितताका चुनौतीको समाधानमा मद्दत गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्