पोर्चुगलमा सुरु भयो ज्ञान महायज्ञ



पोर्चुगलमा सुरु भयो ज्ञान महायज्ञ

लिस्बन : सत्य सनातन धर्मका प्रवर्द्धक एक नेपाली योगीको पहलमा युरोपेली मुलुक पोर्चुगलमा साप्ताहिक ज्ञान महायज्ञ सुरु भएको छ । द ट्रथ लभ अफ लिभिङ फाउन्डेसनको आयोजनामा युरोपमै पहिलो पटक पोर्चुगलको राजधानी लिस्बनमा साप्ताहिक ज्ञान महायज्ञ सुरु भएको हो ।

महायज्ञका प्रमुख वाचक योगी श्रीओम सूर्य शिवले शुद्धज्ञान, वेद, श्रीमद्भागवत महापुराण, सूर्य पुराण, शिव पुराण, जीवनको सत्यता, आत्मज्ञानलगायतका विषयमा आध्यात्मिक तथा धार्मिक प्रवचन दिनुहुनेछ । महायज्ञमा दैनिकजसो पूजा, जलधारा, पाठ, हवन, ध्यान, प्रवचनका साथै भजन कीर्तन हुने बताइएको छ । 

विश्वमा सत्य सनातन धर्मको प्रचारप्रसार गर्ने तथा शुद्ध ज्ञान प्रवाह गर्ने उद्देश्यले ज्ञान महायज्ञको आयोजना गरिएको योगी श्रीओम सूर्य शिवले बताए । महायज्ञबाट संकलन भएको रकम पोर्चुगल र नेपालमा आश्रम बनाउने योजनासमेत रहेको उनले जानकारी दिए । योगी श्रीओमका अनुसार महायज्ञमा पोर्चुगलमा रहेका नेपालीसहित विदेशीको समेत उपस्थिति रहनेछ । 

बिहीबारबाट सुरु भएको महायज्ञ डिसेम्बर ५ सम्म सञ्चालन हुनेछ । योगी श्रीओम सूर्य शिवले यसअघि नेपालसहित भारत, अमेरिका, जापान, जर्मनी, स्विडेन, फ्रान्स, स्पेन, बेल्जियमलगायतका विभिन्न मुलुकमा सत्य सनातन धर्मसम्बन्धी विभिन्न धार्मिक कार्यक्रम सम्पन्न गरिसकेका छन् ।

रासस

प्रतिक्रिया दिनुहोस्