कर्मचारीले असहयोग गरेको मुख्यमन्त्री गुरुङको आरोप



बेनी : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको काममा कर्मचारीले असहयोग गरेको आरोप लगाएका छन् । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश इञ्चार्जसमेत रहेका मुख्यमन्त्री गुरुङले शनिबार बेनीमा आयोजित कार्यक्रममा कर्मचारीले संघीय, प्रदेश र स्थानीय सरकारलाई असहयोग गरेको आरोप लगाएका हुन् । 

‘कर्मचारीको मानसिकता र मनोविज्ञानमा कुनै परिवर्तन भएको छैन । उनीहरु अहिलेको संघीय शासन व्यवस्था सफल बनाउन असहयोग गरिरहेका छन्’, मुख्यमन्त्री गुरुङले भने, ‘आनाकानी, ढिलासुस्ती, लुकिछिपी, के के गरेर अवरोध सिर्जना गरेका छन् ।’ 

उनले पुरानो कर्मचारी र नयाँ शासकबीच अन्तरद्वन्द्व भएको बताए ।  ‘पुरानो शासन व्यवस्थाले उत्पादन गरेका कर्मचारी र नयाँ व्यवस्थाका शासकबीच ठूलो अन्तरद्वन्द्व चलिरहेको छ’, उनले भने । 

कर्मचारीको असहयोगबीच सरकारले अहिलेसम्म राष्ट्रिय एकता, अन्तर्राष्ट्रिय सम्बन्ध सुधारका लागि गरेका काम महत्वपूर्ण भएको दाबी उनको छ । उनले बहुमतको दम्भ त्यागेर जनताको सेवा गर्न जनप्रतिनिधिलाई निर्देशन दिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्