उपत्यकामा एक महिनामा ५७ हजार लिटर घरेलु मदिरा नष्ट



काठमाडौं : महानगरीय प्रहरी वृत्त महाराजगन्जले केही दिनअघि टोखाको लाखेडाँडास्थित एक टहराबाट ठूलो परिमाणमा घरेलु मदिरा बरामद गर्‍यो । ३ हजार ४० लिटर कच्चा मदिरा, ७० लिटर मदिरा र भाँडाकुँडा नियन्त्रणमा लियो । सञ्चालक थेम्बा शेर्पालाई पनि पक्राउ गर्‍यो ।

संखुवासभा, हटिया घर भएका उनले त्यहाँ मदिरा व्यवसाय गर्दै आएका थिए । आन्तरिक राजस्व विभागमा बुझाइएका शेर्पा ८ हजार ४ सय रुपैयाँ राजस्व बुझाएर छुटे ।

पछिल्ला दिन प्रहरीले घरेलु मदिरा नियन्त्रणलाई प्राथमिकता दिएको छ । कात्तिक १० यताको एक महिनामा काठमाडौं प्रहरीले ५३ हजार ३ सय लिटर र ललितपुर प्रहरीले ४ हजार ४ सय २६ लिटर नस्ट गरेका छन् ।

बरामद परिमाणले राजधानीमा मात्रै कति धेरै घरेलु मदिरा खपत भइरहेको छ भन्ने देखाउँछ । काठमाडौं प्रहरीको हिसाब हेर्दा दैनिक १ हजार ६ सय लिटर अवैध मदिराको ओसारपसार र कारोवार हुने गरेको छ । प्रहरीको आँखा छलेर भइरहेको खपतको त हिसाबकिताबै छैन ।

निर्मला पन्तको बलात्कार र हत्या प्रकरणबाट आलोचित गृहमन्त्री रामबहादुर थापाले यौन र सामाजिक हिंसा बढ्नुमा मदिरालाई कारण औंल्याउँदै कडाइ गर्न थालेका छन् । प्रहरीको सक्रियता त्यसैको परिणाम हो । 

असोज १ मा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मासहितका पदाधिकारीसँगको छलफलमा होस वा २३ असोजमा दैलेखमा आयोजित स्वस्थ्य, सभ्य, सदाचारी र अपराधमुक्त समाज निर्माणको अभियान कार्यक्रममा होस गृहमन्त्री थापाले एउटै विचार राखिरहेका छन् ।

त्यो हो, मदिराका कारण महिला हिंसा, बलात्कार र बालबालिकामाथि हुने हिंसाको घटना बढेको छ । त्यसो त लागूऔषध र मदिरा नियन्त्रणका लागि गृह मन्त्रालयले आयोजना असोजको अन्तिम साता आयोजना गरेको कार्यक्रममा गृहमन्त्री थापाले ७० प्रतिशत यौन हिंसा मदिराका कारण हुने गरेको बताएका थिए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्