विधान संशोधनका लागि देशभरबाट सुझाव संकलन गर्दै कांग्रेस



काठमाडौं:  विधान मस्यौदा समितिले तयार गरेको प्रारम्भिक मस्यौदामाथिको छलफलका लागि नेपाली कांग्रेसले सातै प्रदेशमा छलफल गरिरहेको छ। 

 

समितिले तयार गरेको विधानको मस्यौदामाथि सुझाव लिन नेताहरु उपत्यका बाहिर निस्किएका हुन्। मस्यौदा समितिमा रहेका १३ सदस्यसहित नेताहरु सातै प्रदेशमा खटिएका छन्। विधानका विषयमा राय लिन सात प्रदेशका १२ स्थानमा कार्यक्रम गर्ने मस्यौदा समितिले जनाएको छ।

 

विधान संशोधन सुझाव संकलनका लागि प्रदेश १ को विराटनगरमा आयोजित कार्यक्रममा महामन्त्री तथा विधान मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्का र डा शेखर कोइराला सहभागी छन्। सोही प्रदेशमा आनन्दप्रसाद ढुंगाना, नवीन्द्रराज जोशी, डा डिला संग्रौला र सरिता प्रसाईलगायतका नेता खटिएका छन्।

 

गण्डकी प्रदेशमा केन्द्रीय सदस्य अर्जुननरसिंह केसीसहित विधान मस्यौदा समितिका सदस्यहरु फरमल्लाह मन्सुर र अमरसिंह पुनलगायत नेता खटिएका छन्।

 

प्रदेश २ मा डा मिनेन्द्र रिजाल र डिना उपाध्यायले जनकपुर र वीरंगजबाट सुझाव संकलन गर्ने जनाइएको छ।  प्रदेश ३ मा दिलेन्द्र बडु, सिता गुरुङलगायतका नेताले काठमाडौं र ललितपुरबाट सुझाव संकलन गरेको बताइएको छ। 

 

त्यसैगरी प्रदेश ५ मा रमेश लेखक र मदन अमात्य खटिएका छन्। कर्णाली प्रदेशको सुर्खेत र प्रदेश ७ को कैलालीमा सुझाव संकलन जारी छ। सह–महामन्त्री डा प्रकाश शरण महत, मीन विश्वकर्मा, प्रदीप पौडेललगायतका नेता कर्णाली  र प्रदेश ७ मा सुझाव संकलनका लागि खटिएका छन्।

 

सातै प्रदेशमा एकसाथ राखिएको सुझाव संकलन शुक्रबार सकिने छ। प्राप्त सुझावलाई मूल समितिले एकत्रित गरी मस्यौदालाई दशैंअघि अन्तिम रुप दिनेछ। तिहारअघि केन्द्रीय समितिको बैठकमा पेस गरिने मस्यौदा समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्