
एजेन्सी : इंग्लिस प्रिमियर लिगमा आइतबार सम्पन्न खेलमा चेल्सी र आर्सनलले जित हात पारेका छन् । चेल्सीले घरेलु मैदानमा फुलहममाथि २–० को जित दर्ता गर्दा आर्सनलले पाहुना टोटेनहम हट्सपरलाई ४–२ ले पराजित गर्यो ।
चेल्सीको जितमा पेड्रो र रुबेन लोफ्टस चेकले गोल गरेका थिए । पेड्रोले चौथो मिनेटमा गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि, वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका चेकले खेल सकिन ८ मिनेट बाँकी रहँदा इडेन हाजार्डको पासमा गोल गर्दै चेल्सीको जित निश्चित गरेका थिए ।
उता, निकै प्रतिस्पर्धात्मक खेलमा आर्सनलले सुरुवाती अग्रता लिएको थियो । पिएर एमेरिक औबामेयाङले पेनाल्टीमा गोल गर्दै आर्सनललाई १० औं मिनेटमा अग्रता दिलाएका थिए । तर ३० औं मिनेटमा एरिक डायरले क्रिस्टियन एरिक्सनको फ्रिकिकमा हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए ।
बराबरी गोल गरेको चार मिनेटमा नै टोटेनहमले अग्रता लियो । ह्युङ मिन सनलाई पेनाल्टी क्षेत्रमा लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । ह्यारी केनले पेनाल्टीलाई गोलमा परिणत गर्दै पाहुना टोलीलाई अगाडी पुर्याए । पहिलो हाफमा टोटेनहमले २–१ अग्रता बनाएको थियो ।
दोस्रो हाफमा आर्सनलले ३ गोल थप्यो । ५६ औं मिनेटमा औबामेयाङले गोल गरे भने ७५ औं मिनेटमा एलेक्जेन्डर लाकाजेटले गोल गरे । त्यसको दुई मिनेटमै आर्सनलले अग्रता दोब्बर बनायो । लुकास टोरेराले औबामेयाङको पासलाई नियन्त्रणमा लिँदै सुन्दर गोल गरे ।
यस जितसँगै आर्सनलले गोलअन्तरमा टोटेनहमलाई पछाडी पार्दै चौथो स्थानमा उक्लिएको छ । दुवै टोलीको १४ खेलमा ३० अंक रहेको छ ।
१४ खेलपछि चेल्सीको ३१ अंक पुगेको छ । शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको ३८ अंक छ । ८ अंकसहित फुलह्याम अंक तालिकाको पुछारमा छ ।