अब धुलिखेलमा वाईफाईको मजा !



काभ्रेपलाञ्चोक : धुलिखेल नगरपालिकाले पर्यटकको सुविधाका लागि निःशुल्क वाईफाई सेवा सुरु गरेको छ । आइतबार सरस्वती बजार परिसर (पार्क) बाट फ्री वाईफाई सेवा सुरु गरिएको हो । 

 

नगरप्रमुख अशोक ब्याञ्जूले नगरका अन्य १२ पर्यटकीय क्षेत्रमा फ्री वाईफाई सेवा विस्तार गरिने जानकारी दिए । उनले भने, ‘धुलिखेल पर्यटकीय स्थल हो, पर्यटक तथा स्थानीयलाई सूचना प्रविधिमा पहुँच बढाउन यस्तो सेवा दिन थालेका हौं ।’ 

 

ब्याञ्जूका अनुसार एक वडाको एक स्थान तथा धुलिखेलका विभिन्न ऐतिहासिक चोकमा पर्यटक केन्द्रित फ्री वाईफाई सेवा उपलब्ध गराइनेछ । उनले भने, ‘नगरको समृद्धिका लागि सूचना, प्रविधि, शिक्षा, स्वास्थ्य, सरसफाइ, खानेपानी तथा नगरलाई ‘ग्रिन, क्लिन, कलरफुल, साइक्लिङ सिटी’ बनाउने उद्देश्यले काम गरिसकेका छौं ।’ 

 

फ्री वाईफाई कार्यक्रमअन्तर्गत पहिलो चरणमा सरस्वती बजार, भगवती मन्दिर परिसर, जिल्ला प्रशासन कार्यालय तथा नगरपालिका कार्यालय, खेल मैदान, सरकारी कार्यालय र बजार क्षेत्र, टुँडीखेल मनोरञ्जन पार्क, हजार सिँढी क्षेत्र देवीस्थान मन्दिरसम्म, बिपी मार्ग चोक र नारायणस्थान मन्दिर वरिपरि फ्री वाइफाइ जडान गरिने भएकोे छ । नगरपालिकाका अनुसार एकपटकमा एक सय जनासम्मले प्रयोग गर्न सक्ने गरी वाईफाईको क्षमता विस्तार गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्