मंसिर २६ गतेदेखि प्रदेश ५ को हिउँदे अधिवेशन



बुटवल : प्रदेश नम्बर ५ को प्रदेशसभा हिउँदे अधिवेशन यही मंसिर २६ गतेदेखि सुरु हुने भएको छ ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दोस्रो अधिवेशन सकिएको चार महिनापछि मंसिर २६ गते अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

२६ गते दिउँसो १ बजे प्रदेश सभा बैठक आह्वान गर्नका लागि प्रदेश प्रमुख उमाकान्त झालाई अनुरोध गर्ने निर्णय भएको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।

प्रदेश ५ को दोस्रो अधिवेशन साउन २४ गते अन्त्य भएको थियो । २६ गते बैठक बसे पनि कात्तिक ४ गतेसम्मका लागि स्थगित हुने चौधरीले बताए । कांग्रेस महासमिति बैठक भएकाले त्यसपछि मात्रै बैठक बस्ने तयारी गरिएको छ ।

संसद्को अधिवेशनमा कानून निर्माणलाई प्राथमिकता दिने सरकारको तयारी छ । त्यसका लागि सरकारले १५ भन्दा बढी विधेयकहरू तयार पारेको छ ।

यस्तै मन्त्रिपरिषद् बैठकले दाङ घोराही ८ ढिकापुर गाउँलाई वडा नम्बर ९ मा गाभ्ने प्रस्ताव आएकाले स्वीकृत गर्दै संघीय सरकारमा पठाउने निर्णय पनि गरेको छ ।

बैठकले सार्वजनिक खरिदसम्बन्धी कार्यविधि पारित गरेको छ भने प्रदेश सहकारी विधेयक सदनमा पेस गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्